चितवनमा फेरि जङ्गली हात्तीको आतंक, एक युवकको दर्दनाक मृत्यु

चितवन – पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।
३५ वर्षीय सुरेश महतो, जो खैरहनी नगरपालिकाका स्थायी बासिन्दा हुन् र हाल रत्ननगर–७ मा बस्दै आएका थिए, शनिबार हात्तीको हमलामा परेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, महतोमाथि चितवन एडभेन्चर होटलको पछाडि जङ्गली हात्ती गोविन्देले आक्रमण गरेको थियो। हात्तीको आक्रमणपछि महतोलाई बचाउन नसकिएर घटनास्थलमै ज्यान गएको थापाले जानकारी दिए।
वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो!
यो घटनासँगै चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। चितवनमा जङ्गली हात्तीको आतंक बढ्दै गएपछि स्थानीयहरू त्रसित बनेका छन्। सरकारले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि ठोस नीति ल्याउनुपर्ने आवाज उठ्न थालेको छ।