समाचार

सप्तरीमा गाँजा बरामद : सिडियोको आँटिलो कारबाही, प्रहरीको शंकास्पद भूमिका

सप्तरीमा गाँजा बरामद : सिडियोको आँटिलो कारबाही, प्रहरीको शंकास्पद भूमिका

फोटो : भाडा घरमा गोदाम बनाइएको गाँजा तथा अन्य तस्करी सामान रहेको उक्त गोदामका मालिक रोशन उर्फ राजेश कुमार यादव।


सप्तरी – प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालको नेतृत्वमा फागुन १९ गते सप्तरीमा ठूलो मात्रामा गाँजा बरामद गरिएको छ। तस्करीमा संलग्न गिरोहको गोदामबाट फेला परेको उक्त गाँजा स्थानीय रोशन भनिने राजेश कुमार यादव द्वारा भाडामा लिइएको गोदाममा राखिएको थियो।

प्रजिअ दाहालले महिनौँ अघिदेखि यसबारे विस्तृत जानकारी संकलन गरेका थिए र प्रारम्भिक अनुसन्धानपछि एक्लै छापामारी गरेका थिए। घटनास्थलमा रहेका गोदाम सञ्चालक यादवलाई पटक–पटक बोलाइए पनि उनी करिब एक घण्टासम्म नआएपछि गोदामको ताला फोडी तस्करीका सामग्रीसहित गाँजा बरामद गरिएको थियो। उक्त घटनापछि मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थल पुगेका थिए, त्यो पनि घुमुवा प्रहरीले केन्द्रमा रिपोर्ट गरेपछि मात्र बाध्यात्मक रूपमा। त्यसबेलासम्म प्रहरी मौन बसेको थियो।

घटनास्थलबाटै प्रमुख जिल्ला अधिकारी दाहालले मिडियासँग प्रत्यक्ष संवाद गर्दै तथ्य सार्वजनिक गरेका थिए। तर, प्रहरी अनुसन्धानपछिको पत्रकार सम्मेलनमा वास्तविकता लुकाउने प्रयास गरिएको देखिन्छ।

प्रहरी अनुसन्धानको भ्रामक प्रस्तुति

सप्तरी प्रहरीले घटनाको पाँच दिनपछि मात्र पत्रकार सम्मेलन गर्दै गाँजा बरामदबारे जानकारी गरायो। तर, महदेवा–४ निवासी राज नारायण साहको जग्गामा रहेको जस्ताको टहरा राजविराज–९ निवासी रोशन भनिने राजेश यादवलाई गत भदौदेखि मासिक भाडामा दिइएको तथ्य लुकाइयो।

पत्रकार सम्मेलनमा प्रहरीले गोदाम सञ्चालक यादवको नामसमेत उच्चारण गरेन। यसले यादवलाई जोगाउने उद्देश्यले प्रहरी योजनाबद्ध रूपमा अस्पष्ट विवरण प्रस्तुत गरिरहेको संकेत गर्छ।

को हुन् राजेश कुमार यादव ?

गोदाम सञ्चालक राजेश कुमार यादव सप्तरीका चर्चित जसपा नेता दिनेश यादव (उर्फ कारतूस) का भान्जा हुन्। उनको स्थायी घर भारतको बिहार, सुपौल जिल्लाको दूधैला गाउँमा पर्छ। भारतमा विभिन्न मुद्दा मामिलामा फसेपछि उनी नेपालमा मामाको शरणमा बस्दै आएका छन्। सप्तरीमा व्यावसायिक गोदाम सञ्चालन गर्दै आएका यादव प्रहरीको निगरानीमा पटक–पटक परे पनि राजनीतिक पहुँचका कारण उम्किरहन्छन्।

तस्करीको साम्राज्यमा प्रहरी प्रशासनको भूमिकामा प्रश्न ?

गाँजा बरामद भएदेखि यादव फरार छन्। प्रहरीले उनको घरमा छापा मार्दा उनलाई भेट्न सकेन र घरमा ताला लगायो। तर, स्थानीयका अनुसार उनी राजविराजमै खुलेआम घुमिरहेका छन्।

शुक्रबार मात्र उनी राजविराजको सखडा मोडस्थित दास पेट्रोल पम्प नजिकै साथीहरूसँग चिया खाँदै गरेको देखिएको थियो। तर, प्रहरी भने उनलाई देख्दैन। यसले सप्तरी प्रहरीको अनुसन्धान आशंकाको घेरामा परेको छ।

किन हुँदैन दोहोरो नागरिकताको छानबिन ?

राजेश कुमार यादवसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको आरोप छ। तर, यसबारे कुनै छानबिन अघि नबढ्नु प्रहरीमाथि गम्भीर प्रश्न उठाउँछ। सप्तरी प्रशासनका केही कर्मचारीहरू स्वयं तस्करी गिरोहसँग जोडिएको आशंका गरिएको छ।

प्रशासन र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठिरहेको यस प्रकरणमा स्वतन्त्र छानबिन हुनुपर्ने माग चुलिँदै गएको छ। तर, यादवलाई जोगाउन गरिएको निरन्तर प्रयासले सप्तरीमा तस्करीको जरा कति गहिरो छ भन्ने स्पष्ट पारिदिएको छ।

सप्तरी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाल