समाचार

पूर्वराजाका ज्वाईं गएकै हुन् दुर्गा प्रसाईको घरमा पैसा बोकेर ?

पूर्वराजाका ज्वाईं गएकै हुन् दुर्गा प्रसाईको घरमा पैसा बोकेर ?

काठमाडौं — तीनकुनेको झडप, आगजनी र जनधनको क्षतिको मुख्य पात्र मानिएका दुर्गा प्रसाई पछिल्लो समय एकपछि अर्को रहस्यमय गतिविधिमा मुछिँदै गएका छन्। चैत १५ गतेको घटनालगत्तै भूमिगत भएका प्रसाईलाई अहिलेसम्म समात्न नसकिएकोमा आशंका र आरोपको शृंखला अझै बढेको छ। यसैबीच, उनको घरमा पूर्वराजाका ज्वाईं स्वयं पैसा बोकेर पुगेको प्रमाणित हुने किसिमका समाचार बाहिर आएका छन्।

एक उच्च प्रहरी स्रोतको दाबी अनुसार चैत १५ गते बिहान अन्तिम राजा ज्ञानेन्द्र शाहका ज्वाईं राजबहादुर सिंह विशेष सुरक्षा सहितको गाडीमा नगद रकम राखेर दुर्गा प्रसाईको निवासमा पुगेका थिए। उनीहरूबीच झण्डै एक घण्टा गोप्य भेटवार्ता भएको थियो। भेटपछि केही समयमै प्रसाई ‘राजा फर्काउने अभियान’का कमाण्डर घोषित भएका थिए, जसले राजनीतिक घेरामा अनेकौं प्रश्न उठाएको छ।

त्यसको अघिल्लो दिन चैत १४ गते, प्रसाई स्वयं निर्मल निवास प्रवेश गरेका थिए। अन्तिम राजा ज्ञानेन्द्र शाहसँग डेढ घण्टा लामो गोप्य वार्तापछि उनी साढे १२ बजे बाहिरिएका थिए। त्यसपछि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदी लगायत नेताहरू पनि 'दर्शन भेट' को नाममा निर्मल निवास गएका थिए। त्यस दिनको चहलपहलमाथि मिडिया र सामाजिक सञ्जालमा व्यापक चर्चा भयो।

भोलिपल्टै दुर्गा प्रसाईको घरमा राजावंशीय ज्वाईं स्वयं पैसा लिएर पुगेको सूचना भने अझैसम्म गोप्य राखिएको थियो। तर अब त्यो तथ्य प्रहरी स्रोतले स्वीकार गर्न थालेको छ। के त्यो पैसा आन्दोलनको खर्चका लागि थियो ? के त्यसैको प्रतिफलस्वरूप तीनकुनेमा जनतामाथि हिंसा भड्काइयो ? प्रश्न धेरै छन्, जवाफ भने शून्यप्रायः।

राजनीतिक विश्लेषकहरूले यसलाई ‘संवैधानिक व्यवस्थामाथि योजनाबद्ध प्रहार’ को संज्ञा दिइरहेका छन्। प्रसाईको गाडी प्रहरी निगरानीमा रहँदाहुँदै पनि उनी भीडबाट ‘टाप’ कस्न सफल हुनु, गोली नचाल्ने निर्देशन र चासो नलिएको जस्तो देखिने सरकारी प्रतिक्रिया– यी सबैले राज्य संयन्त्रभित्रैको मिलेमतोको संकेत दिइरहेको छ।

यसबीच प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा संयन्त्रका शीर्ष नेतृत्वबीच प्रसाईमाथिको कारबाहीलाई लिएर लगातार बैठकहरू चलिरहेका छन्। तर पनि, प्रसाई अझै पक्राऊमा परेका छैनन्।

भाटभटेनी लुटपाटजस्ता घटनामा १२ घण्टा नबित्दै अभियुक्त समात्न सक्ने नेपाल प्रहरी राजधानीबाट झापा गएका प्रसाईलाई किन समात्न सकिरहेको छैन ? नागरिक समाज र विभिन्न तहका राजनीतिक विश्लेषकहरूले यो गम्भीर प्रश्न उठाएका छन्।

राजा फर्काउने नाममा भड्काइएको हिंसा र त्यसमा पूर्वराजाका निकटका व्यक्तिहरूको संलग्नता पुष्टि हुँदै जाँदा, अब यो प्रकरण केवल प्रसाईमाथिको अभियोगमा सीमित छैन। यो सिङ्गो सत्ता संरचना र गणतन्त्रको भविष्यसँग जोडिएको गम्भीर विषय बन्दै गएको छ।