दुर्गा प्रसाईको रहस्यमय गिरफ्तारी: भारतमा आत्मसमर्पण, नेपालमा पक्राउ!

दुर्गा प्रसाई, एक विवादास्पद नेपाली मेडिकल व्यवसायी र राजनीतिक व्यक्तित्व हुन्। उनले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै विभिन्न आन्दोलनको नेतृत्व गरेका छन्। उनका राजनीतिक गतिविधिहरू प्रायः विवादित बनेका छन्, जसले अधिकारीहरूसँग झडप निम्त्याएका छन्। यसअघि पनि उनको मेडिकल कलेजमा भएको आर्थिक अनियमितता र साइबर अपराधको आरोपमा मुद्दा दायर भइसकेको छ।
तीनकुने घटना र गिरफ्तारी:
चैत्र १५ गते, २०८१ मा काठमाडौंको तीनकुनेमा राजसंस्था समर्थकहरूको प्रदर्शन हिंसात्मक भयो। उक्त प्रदर्शनमा सरकारी तथा निजी सवारी साधनहरुमा आगजनी र तोडफोड भएको थियो।
उक्त प्रदर्शनमा दुर्गा प्रसाईले जनकमान्डरको भुमिका निर्वाह गरेका थिए।
प्रदर्शन हिंसात्मक भएपछि, प्रहरीले उनीसहित १ सय ७० जना भन्दा बढी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको थियो।
तीनकुने घटनामा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाई र उनका अङ्गरक्षक दीपक खड्कालाई शुक्रबार, बैशाख २७ गते झापाको भद्रपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
गिरफ्तारीपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
गिरफ्तारी सम्बन्धी विवाद:
प्रसाईंका समर्थकहरूले उनलाई असममा भारतीय प्रहरीले नियन्त्रणमा लिएको र नेपाल प्रहरीलाई बुझाएको दाबी गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ताले भने प्रसाईलाई भद्रपुरबाटै पक्राउ गरिएको बताएका छन्।
नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले प्राय: अभियुक्तहरूलाई सीमा क्षेत्रमा पक्राउ गरिएको दाबी गर्ने प्रचलन रहेको सुरक्षा मामिलाका जानकारहरू बताउँछन्।
कानुनी जटिलता:
नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक हेमन्त मल्लका अनुसार कानुनतः अर्को देशमा गएर पक्राउ गर्न नमिल्ने भएकाले कागजी अभिलेखमा नेपालमै पक्राउ गरिएको देखाउनुपर्ने हुन्छ।
यसले दुई देशको सुरक्षा निकायबीच समन्वयमा चुनौती थपेको छ।
दुर्गा प्रसाईलाई प्रहरीले गत असोज महिनामा विद्युतीय कारोबार ऐन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको थियो।
उनलाई राज्य विरुद्धको अपराधमा संलग्न रहेको आरोपमा गिरफ्तार गरिएको छ।
यस घटनाले नेपालको राजनीतिक वातावरणमा थप तरंग ल्याएको छ र आगामी दिनहरूमा यसले कसरी रुप लिन्छ भन्ने कुरा हेर्न बाँकी छ।