भारतीय मन्त्री मनोहरलाल खट्टरको दुई दिने नेपाल भ्रमण सुरू

भारतका विद्युत् तथा आवास र सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज दुई दिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मन्त्री खट्टर नेपालको औपचारिक भ्रमणमा आएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ऊर्जा मन्त्रालयका अधिकारीहरू तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए।
माघ ३० मा भारत भ्रमणको क्रममा मन्त्री दीपक खड्काले खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। उक्त निमन्त्रणाको स्वीकारोक्तिमा आज खट्टरको आगमनले दुई देशबीचको ऊर्जा तथा पूर्वाधार सहकार्यलाई थप सुदृढ बनाउने संकेत मिलेको छ।
आजै मन्त्री खट्टर र मन्त्री खड्का संयुक्त रूपमा संखुवासभाको तुम्लिङटारस्थित सबस्टेसनमा कोशी करिडोर अन्तर्गतका विभिन्न २२० केभी प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गर्नेछन्। इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन, तुम्लिङटार, बानेश्वर र बसन्तपुरका सबस्टेसनहरू भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका हुन्।
यस भ्रमणका क्रममा मन्त्री खट्टरले भारतले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको समेत अवलोकन गर्नेछन्। साथै, नेपाल–भारत मिलेर स्थापना गर्न लागिएको संयुक्त प्रसारण लाइन निर्माण कम्पनीसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर हुनेछ, जसले दीर्घकालीन ऊर्जा व्यापार र पूर्वाधार साझेदारीको बाटो खोल्ने अपेक्षा गरिएको छ।
बुधबार मन्त्री खट्टरले मुस्ताङस्थित मुक्तिनाथको अवलोकन भ्रमण गर्नेछन्। त्यही दिन उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। भ्रमणको अन्तिम चरणमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरी स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
मन्त्री खट्टरको यो भ्रमण नेपाल–भारतबीचको ऊर्जा कूटनीति र पूर्वाधार विकासमा बढ्दो सहकार्यको महत्वपूर्ण संकेतक हो। अरुण तेस्रो, कोशी करिडोरजस्ता परियोजनाहरूले ऊर्जा निर्यात र अन्तरदेशीय विद्युत् व्यापारको सम्भावनालाई मूर्त रूप दिन थालेका छन्। साथै, भारतको सहयोगमा निर्माण हुने प्रसारण लाइन तथा सबस्टेसनले नेपालको ऊर्जा प्रणालीलाई थप सशक्त बनाउनेछन्।
यो भ्रमणलाई दुवै देशबीचको उच्चस्तरीय आपसी विश्वासको प्रतीकका रूपमा हेर्न सकिन्छ। धार्मिक, भौगोलिक र आर्थिक नातालाई ऊर्जा साझेदारीले नयाँ उचाइमा पुर्याउने संकेत यस भ्रमणबाट प्रष्ट देखिन्छ। यो नेपाल–भारत सम्बन्धमा कूटनीतिक तथा रणनीतिक हिसाबले एक महत्वपूर्ण अग्रसरता हो।