कश्मीर हमलामा नेपालीको मृत्यु: राष्ट्रिय एकता अभियानको सनसनीपूर्ण चेतावनी – ‘नेपालमा पनि उस्तै नरसंहार हुन सक्छ, इस्लामीकरण घातक बन्दैछ!’

राष्ट्रिय एकता अभियान – नेपालले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको घोर भर्त्सना गर्दै, उक्त घटनामा एक नेपाली नागरिकको समेत मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेको छ। अभियानले यो हमला दक्षिण एसियामा फैलिँदो इस्लामिक आतङ्कवादको सङ्केत भएको बताउँदै, यस्तै प्रकृतिका घटना नेपालमा समेत दोहोरिन सक्ने गम्भीर चेतावनी दिएको छ। नेपाली समाजमा बढ्दो 'इस्लामीकरण' ले भविष्यमा यस्तै हिंसात्मक गतिविधि निम्त्याउन सक्ने खतरा औंल्याउँदै, समयमै सचेत नभए नेपालले पनि भयानक परिणाम भोग्नुपर्ने अभियानको ठहर छ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा बुधबार जारी विज्ञप्तिमा, पहलगाममा भएको कायरतापूर्ण हमलालाई केवल भारतमाथिको आक्रमण नभई सम्पूर्ण मानव सभ्यतामाथिको क्रूर प्रहारको संज्ञा दिइएको छ। विज्ञप्तिमा पाकिस्तानस्थित कुख्यात आतङ्की सङ्गठन लश्कर–ए–तैयबा (LeT) ले पाकिस्तानी गुप्तचर निकाय आईएसआईको संरक्षणमा उक्त हमला गराएको प्रमाणित भएको दाबी गरिएको छ। लामो समयदेखि LeT ले भारतसहित दक्षिण एसियाको शान्तिमा खलल पुर्याउँदै आएको अभियानको आरोप छ।
विज्ञप्तिमा सन् २००८ को मुम्बई हमला, पुलवामा आक्रमण लगायतका दर्जनौं आतङ्की घटनाहरूमा LeT को संलग्नता विश्वभरका सुरक्षा निकायहरूले प्रमाणित गरिसकेको स्मरण गराइएको छ। नेपाल पनि यस आतङ्कवादी सञ्जालबाट अछुतो नरहेको बताउँदै, विगतमा काठमाडौँस्थित पाकिस्तानी दूतावासबाट आतङ्की गतिविधिलाई कूटनीतिक आवरणमा संरक्षण दिइएको तथ्य सार्वजनिक भइसकेको अभियानले उल्लेख गरेको छ।
सन् १९९९ मा काठमाडौँबाट अपहरण गरिएको IC-814 विमान र त्यसपछि मौलाना मसूद अजहर जस्ता आतङ्कीलाई भारतले रिहा गर्नुपरेको घटना नेपालका लागि गम्भीर चेतावनी भएको अभियानले जनाएको छ। यस्ता घटनाले नेपालको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रमा समेत ठूलो क्षति पुगेको विज्ञप्तिमा भनिएको छ।
नेपाल र भारतबीचको खुला सिमाना, जुन सांस्कृतिक र ऐतिहासिक सम्बन्धको प्रतीक हो, त्यसलाई आतङ्कवादीहरूले दुरुपयोग गर्न सक्ने खतराप्रति सरकारले उच्च सतर्कता अपनाउनुपर्नेमा अभियानले जोड दिएको छ। इस्लामिक आतङ्कवाद कुनै एक देशको मात्र नभई सम्पूर्ण दक्षिण एसिया, एसिया र विश्वकै साझा चुनौती भएको उल्लेख गर्दै, अमेरिका, युरोप, श्रीलंका, बाली लगायत विश्वका विभिन्न स्थानमा भएका आक्रमणहरूलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
राष्ट्रिय एकता अभियानले आतङ्कवाद कुनै धर्मको सन्देश नभई कट्टरपन्थी शक्तिहरूको आपराधिक प्रयोग भएको स्पष्ट पारेको छ। LeT जस्ता सङ्गठनलाई अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनका रूपमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने, नेपाल सरकारले आतङ्कवादविरुद्धको कानुनी तथा सुरक्षात्मक संरचना थप मजबुत बनाउनुपर्ने र भारत सरकारद्वारा चालिने कडा आतङ्कविरोधी कदमहरूमा आफ्नो पूर्ण समर्थन रहने अभियानले जनाएको छ।
अन्तमा, अभियानले भारत सरकारप्रति ऐक्यबद्धता प्रकट गर्दै, अन्तर्राष्ट्रिय समुदाय, विशेषतः संयुक्त राष्ट्र संघलाई इस्लामिक आतङ्कवादविरुद्ध ठोस र निर्णायक कदम चाल्न आह्वान गरेको छ। अब मानवताले जित्नुपर्ने र आतङ्कले हार्नुपर्ने निर्णायक लडाइँको समय आएको विज्ञप्तिमा उल्लेख छ।