समाचार

भारतको २० लाख डलर बराबरको जीवनदायी सहयोग! थालेसिमिया र सिकल सेलका बिरामीका लागि महत्वपूर्ण खोप नेपाल आइपुग्यो!

भारतको २० लाख डलर बराबरको जीवनदायी सहयोग! थालेसिमिया र सिकल सेलका बिरामीका लागि महत्वपूर्ण खोप नेपाल आइपुग्यो!

नेपालको सार्वजनिक स्वास्थ्य प्रयासहरूलाई महत्वपूर्ण बढावा दिँदै, भारत सरकारले थालेसिमिया र सिकल सेल रोग (एससीडी) बाट पीडित बिरामीहरूलाई सहयोग पुऱ्याउने उद्देश्यले खोपहरूको पहिलो खेप आज हस्तान्तरण गरेको छ।

नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले काठमाडौंमा आयोजित एक समारोहमा नेपालका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेललाई उक्त खोप हस्तान्तरण गर्नुभएको हो। यो हस्तान्तरण, नेपाल सरकारको अनुरोधमा भारतले प्रदान गर्न लागेको २० लाख अमेरिकी डलर बराबरको बृहत् सहायता प्याकेजको पहिलो चरण हो। यसले यी वंशानुगत रक्त विकारहरूको व्यवस्थापनमा सहयोग पुग्नेछ र विशेष गरी थारु समुदायलाई लाभ पुऱ्याउने अपेक्षा गरिएको छ।

यो प्रारम्भिक खेप, नेपाल सरकारको अनुरोधमा भारतले प्रदान गरिरहेको कुल २० लाख अमेरिकी डलर बराबरको औषधि तथा खोप सहायता प्याकेजको हिस्सा हो। आज हस्तान्तरण गरिएको पहिलो खेपमा जोखिममा रहेका बिरामीहरूलाई गम्भीर प्रकारका अन्य संक्रमणहरूबाट बचाउन आवश्यक महत्वपूर्ण खोपहरू समावेश छन्:

  1. इन्फ्लुएन्जा खोप (३१०० युनिट)
  2. साल्मोनेला खोप (१५५० युनिट)
  3. मेनिङ्गोकोक्कस खोप (३१०० युनिट)
  4. हाइमोफिलस इन्फ्लुएन्जा टाइप बी (Hib) खोप (४६४० युनिट)
  5. स्ट्रेप्टोकोक्कस निमोनिया (न्युमोकोकल) खोप (४६४० युनिट)

भारतबाट प्राप्त यो अत्यावश्यक योगदानले थालेसिमिया र सिकल सेल जस्ता वंशानुगत अवस्थाहरूलाई सम्बोधन गर्ने नेपालको क्षमतालाई उल्लेखनीय रूपमा बलियो बनाउनेछ। यी अवस्थाहरूले प्रभावित व्यक्ति र उनीहरूका परिवारका लागि गम्भीर स्वास्थ्य चुनौतीहरू सिर्जना गर्दछन्। यी खोपहरूको प्रावधानले दुई राष्ट्रहरू बीचको बलियो र दिगो साझेदारी, विशेष गरी महत्वपूर्ण स्वास्थ्य सेवा क्षेत्रमा, थप प्रगाढ बनाएको छ र यसले थारु जस्ता समुदायहरूलाई विशेष लाभ पुऱ्याउने विश्वास लिइएको छ, जो सिकल सेल रोगबाट तुलनात्मक रूपमा बढी प्रभावित छन्।

हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले यी खोपहरूले नेपालमा सिकल सेल रोग र थालेसिमियाबाट प्रभावित व्यक्तिहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो। उहाँले भारत र नेपालबीचको गहिरो मित्रतालाई प्रकाश पार्दै पारस्परिक हितका क्षेत्रहरूमा सहयोग गर्ने भारतको तत्परतालाई भारतको 'छिमेक पहिलो' नीति अनुरूप रहेको बताउनुभयो।

नेपाल सरकारको तर्फबाट खोपहरू ग्रहण गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले भारतको उदार सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले यी खोपहरूले जनस्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको वर्णन गर्दै भारतसँगको लामो समयदेखिको सहकार्य र यसले नेपालको स्वास्थ्य सेवा प्रणालीमा पुऱ्याएको महत्वपूर्ण योगदानलाई स्वीकार गर्नुभयो।

यो पहल भारत र नेपालबीचको घनिष्ठ सम्बन्ध र सहयोगात्मक भावनाको प्रमाण हो, जसले आफ्ना जनताहरूको स्वस्थ भविष्यका लागि साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। भारत सरकार पारस्परिक प्रगति र विकासलाई बढावा दिन स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको छ।