‘भारतीय सेनाको अडिटर’ ज्ञानेन्द्र शाहीको छन्दमा आक्रोश: दिल्लीमा बाबुराम, निशाना कता?

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत देशको वर्तमान नेतृत्व र राजनीतिक अवस्थाप्रति लक्षित गर्दै एक कविता पोस्ट गरेका छन्। उनले यो पोस्टमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई समेत ट्याग गरेका छन्, जो हाल भारत भ्रमणमा रहेका छन्।
आफ्नो फेसबुक वालमा शाहीले लेखेको कविता यस्तो छ:
कहाँ बन्छ देश, नेतृत्व कंश भएपछि
जताततै भाँड्भैलो र बिध्वंस भएपछि ।
स्वाभिमान झुक्छ सधै दिल्ली गएपछी।।
नदुखेको मन छैन, नबिकेको निकाय छैन
सिङ्गै राज्य तिनै भ्रष्टको अंश भएपछि ।
पिउँछ रगत, खेल्छ आहाल सत्तासिन हुँदा
अघाउँदैन ब्वाँसो रुपि हंस भएपछि ।
चलाउ धनुष, उँडाउ शिर, फेरि जन्म "राम"
हुन्छ बिनाश रावणको वंश भएपछि ।
यो कवितामार्फत शाहीले देशको नेतृत्वलाई 'कंश' र 'रावणको वंश'सँग तुलना गर्दै चर्को आलोचना गरेका छन्। उनले जताततै भाँडभैलो र विध्वंस मच्चिएको, नेताहरू दिल्ली जाँदा स्वाभिमान झुक्ने गरेको, भ्रष्टाचार व्याप्त भएको र सत्तामा पुगेकाहरू 'ब्वाँसो' जस्तो भएको तीखो टिप्पणी गरेका छन्।
स्मरण रहोस्, सांसद शाहीले विगतमा आफू भारतमा चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्दा इन्टर्नसिपका क्रममा भारतीय सेनाको समेत लेखापरीक्षण (अडिट) गरेको दाबी गरेका थिए। यद्यपि, उनको यो दाबीलाई पुष्टि गर्ने कुनै स्वतन्त्र प्रमाण उपलब्ध छैन र यसलाई धेरैले अपत्यारिलो मानेका थिए।
अहिले डा. भट्टराई भारत भ्रमणमा रहेको र नेपालको राजनीतिमा भारतीय प्रभावबारे बहस चलिरहेको बेला, 'भारतीय सेनाको अडिटर' को पृष्ठभूमि बताउने शाहीले 'दिल्ली गएपछि स्वाभिमान झुक्ने' जस्ता पंक्तिसहित भट्टराईलाई नै ट्याग गरेर कविता पोस्ट गर्नुलाई अर्थपूर्ण मानिएको छ। यसले उनको निशाना कतातिर सोझिएको हो भन्ने प्रश्न उब्जाएको छ। के यो डा. भट्टराईप्रति लक्षित व्यंग्य हो वा समग्र राजनीतिक नेतृत्वप्रतिको आक्रोश? सामाजिक सञ्जालमा यसबारे विभिन्न अड्कलबाजी सुरु भएको छ।