समाचार

सेतो मच्छिन्द्रनाथको चमत्कारी यात्रा सुरु! तीन दिनको रथयात्रा कहाँ–कहाँ पुग्छ? हेर्न छुटाउँनुहोला!

सेतो मच्छिन्द्रनाथको चमत्कारी यात्रा सुरु! तीन दिनको रथयात्रा कहाँ–कहाँ पुग्छ? हेर्न छुटाउँनुहोला!

काठमाडौं उपत्यकाको प्राचीन धार्मिक एवं सांस्कृतिक परम्परा अनुसार, चैते दसैँको अवसरमा शनिबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा भव्य रूपमा सुरु भएको छ।

शनिबार अपराह्न ४ बजे, मच्छिन्द्र बहालमा रहेको मन्दिरबाट आर्यावलोकितेश्वर (सेतो मच्छिन्द्रनाथ) को मूर्ति निकालेर भक्तजनहरूको ठूलो भीडसहित तीनधारा पाठशालामा बनाइएको नौतले शिखर शैलीको रथमा विराजमान गराइएको हो। त्यसपछि रथयात्रा रत्नपार्क हुँदै असन चोकसम्म पुगेको छ।

तीन दिनसम्म चल्ने यो रथयात्राको दोस्रो दिन (आइतबार) असनबाट बालकुमारी, इन्द्रचोक, मखन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म रथ लैजाने कार्यक्रम छ। तेस्रो दिन भने हनुमानढोका, मरु, चिकमुगल, जैसीदेवल हुँदै लगनमा पुर्‍याइएपछि रथयात्रा समापन हुनेछ।

तर यति मात्र होइन—लगनमा रहेको 'आमा रुख' को परिक्रमा गरेपछि मूर्तिलाई रथबाट निकालेर खटमा राखिन्छ र त्यसपछि विशेष परिक्रमा गरिन्छ जसमा मूर्ति लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिति, भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहालमा पुनः स्थापना गरिन्छ।

यो धार्मिक परम्पराको सुरुआत ने.सं. ७०८ मा राजा शिवसिंह मल्लले गरेका थिए। जमलमा करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएपछि त्यसै स्थानबाट चैत्र शुक्ल अष्टमीका दिन रथयात्रा निकाल्ने परम्परा सुरु भएको हो।