समाचार

आम जनता पार्टीद्वारा प्रधानमन्त्री ओलीको तत्काल राजीनामाको माग

आम जनता पार्टीद्वारा प्रधानमन्त्री ओलीको तत्काल राजीनामाको माग

आम जनता पार्टीद्वारा आज काठमाण्डौमा आयोजित ‘तेश्रो जनआन्दोलन’ भव्य रूपमा सम्पन्न भएको छ। ‘दलाल दलतन्त्र’ विरुद्धको यो आन्दोलनमा देशभरिबाट सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता देखिँदा जनआक्रोशको घनत्व स्पष्ट देखिएको छ।

कार्यक्रममा सहभागी जनसमूहले वर्तमान राजनीतिक संरचना र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वविरुद्ध आक्रोश व्यक्त गर्दै सशक्त नाराबाजी गरेका थिए। आन्दोलनको क्रममा पार्टीले प्रधानमन्त्री ओलीको तात्कालिक राजीनामा माग गर्दै वर्तमान दलतान्त्रिक व्यवस्थाले जनअपेक्षा पुरा गर्न नसकेको आरोप लगाएको छ।

आम जनता पार्टीका नेताहरूले अबको निकास ओली नेतृत्वको अन्त्य र वैकल्पिक जनमुखी शासन प्रणालीको सुरुवात भएको जिकिर गरे। उनीहरूले भने, “देशमाथि थोपिएको दलतन्त्र र भ्रष्ट नेतृत्व अब सह्य छैन। प्रधानमन्त्री ओलीले जनताको आवाज सुनी तुरुन्त पदबाट राजीनामा दिनुपर्छ।”

उक्त आन्दोलनलाई जनमतको निर्णायक संकेतका रूपमा लिँदै पार्टीले नयाँ राजनीतिक विकल्पको तयारी थालिएको पनि बताएको छ। आन्दोलनको प्रभाव र जनसहभागिता हेर्दा ओली सरकारको नैतिक धरातल थप कमजोर बनेको विश्लेषण गरिँदैछ।