चीनमा धोखाधडीको महामारी: उद्योगदेखि नागरिकसम्ममा गहिरिँदो अविश्वासको संकट

चीन अहिले धोखाधडी र ठगीको गम्भीर संकटबाट गुज्रिरहेको छ, जसले देशको औद्योगिक क्षेत्रदेखि सर्वसाधारण नागरिकको दैनिक जीवनसम्म असर पुर्याएको छ। गाडी, औषधि, निर्माण सामग्रीदेखि उपभोक्ता वस्तुहरूसम्ममा फैलिएको यो अविश्वासको माहोलले चिनियाँ समाजमा गहिरो असर पारेको छ।
हालै एक जना भोल्भो कारधनीले आफ्नो गाडीमा रहेको Bowers & Wilkins भनिएको अडियो सिस्टम नक्कली भएको पत्ता लगाएपछि चीनभर यस्तो प्रकरण सामाजिक सञ्जालमा व्यापक भयो। वास्तविक लोगोमा ‘W’ अक्षर हुनुपर्नेमा दुईवटा ‘V’ जोडेर बनाइएको थियो, अनि कतिपयमा चारवटा ‘V’ समेत प्रयोग गरिएको देखियो। कारधनीहरूले आफूले पाएको कागजपत्र जाँच गर्दा “Bowers & Wilkins” नभई केवल “Bowers Audio” लेखिएको पाइयो—कानुनी रुपमा ठगी नभए पनि यो शब्दजाल मार्फत उपभोक्तालाई छल गरिएको प्रमाणित भयो।
यो घटनाले चीनमा रहेको झुट र ठगीको संस्कृति झल्काउँछ। केवल अडियो सिस्टम मात्र नभई, कार निर्माताहरूले स्टिलको गुणस्तर, इञ्जिन क्षमता र एयरब्यागजस्ता जीवनसँग प्रत्यक्ष जोडिएका भागहरूमा समेत मिलावट गरेको पत्ता लागेको छ। पैसा कमाउने लोभमा प्राविधिक सुरक्षासम्बन्धी मापदण्डसमेत नजरअन्दाज गरिएको देखिन्छ।
औषधि क्षेत्रमा पनि अवस्था झनै भयावह छ। एक उपभोक्ताले चिनियाँ परम्परागत औषधि ChraJidu किन्नु भएपछि खोल्दा कैप्सुलभित्र केही पनि नभएको देखाएपछि आम नागरिकको विश्वासमा झनै गहिरो चोट पुग्यो। स्वास्थ्य सुधारको आशमा उपभोक्ताहरूले यस्ता औषधि सेवन गर्दा प्रभावकारिता शून्य भएको प्रमाणित हुँदैछ।
“चिनियाँले चिनियाँलाई धोका दिँदैन” भन्ने भनाइ अहिले कटाक्षका रूपमा प्रयोग भइरहेको छ। वास्तवीकता भने उल्टो छ—धोखाधडी र ठगीको मुख्य शिकार चिनियाँ नागरिक आफैं बनिरहेका छन्। निर्माण व्यवसायदेखि स्वास्थ्य सामग्री बिक्रीसम्ममा आफ्नै नागरिकलाई ठग्ने प्रवृत्ति व्यापक छ।
देशबाहिर पनि चिनियाँहरूले चिनियाँमाथि ठगी गरिरहेका दृष्टान्त प्रशस्तै छन्। भियतनाममा एक चिनियाँ व्यापारीले चिनियाँ लजिस्टिक कम्पनीले स्थानीय दरभन्दा पाँच गुणा बढी शुल्क लिएर ठगिएको बताए। अफ्रिकामा त एक चिनियाँ लगानीकर्ताले आफ्नै चिनियाँ साझेदारबाट षड्यन्त्रपूर्वक सम्पत्ति गुमाउनु परेको अनुभव सुनाएका छन्।
यति सबैका बाबजुद सरकारी निकायहरूको चासो कम देखिन्छ। स्थानीय अधिकारीहरू प्रायः आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा उपभोक्ताको अधिकार र सुरक्षालाई बेवास्ता गरिरहेका छन्। कहिलेकाहीं हुने कारबाहीहरू पनि राजनीतिक स्वार्थमा आधारित हुने गरेको आरोप लाग्दै आएको छ।
मिडियाको स्वतन्त्रता अभावले गर्दा यस्ता घोटालाहरू सार्वजनिक हुन मुस्किल पर्ने अवस्था छ। सामाजिक सञ्जालमा मात्र जब विषयले व्यापक ध्यान खिच्छ, तब मात्र प्रतिक्रिया आउने गरेको छ। आजको पुस्ता खुलेरै भन्छ: “ईमानदार भए पैसा गुम्छ, अरूले तिमीलाई ठग्छन्।” यस्तो अवस्था रहेसम्म चीनमा विश्वासको संकट झन् गहिरिँदै जानेछ।