समाचार

किसानको जीवनस्तर र कृषि बजार सुधार गर्न नेपाल–भारत समझौता

किसानको जीवनस्तर र कृषि बजार सुधार गर्न नेपाल–भारत समझौता

काठमाडौँ । नेपाल र भारतबीच कृषि क्षेत्रमा दीर्घकालीन सहयोगको नयाँ अध्याय सुरु भएको छ । काठमाडौँमा आयोजित एक विशेष समारोहमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार दुई देशबीच बाली उत्पादकत्व वृद्धिदेखि पोष्ट हार्भेष्ट व्यवस्थापन, बजारिकरण प्रणालीको सुधार, जलवायु प्रतिरोधी अभ्यासहरूको प्रवर्द्धन, र दिगो कृषि प्रणालीको विकासमा सहकार्य हुनेछ । साथै, यसले खाद्य सुरक्षा सुनिश्चित गर्नुका साथै किसानहरूको जीविकोपार्जनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

मन्त्री अधिकारी र मन्त्री चौहानबीच यसअघि दुई पक्षीय भेटवार्ता पनि भएको थियो । भेटमा दुबै मन्त्रीले कृषि क्षेत्रमा जारी द्विपक्षीय सहयोगको समीक्षा गर्दै परस्पर लाभदायक पहलहरूलाई थप विस्तार गर्नेबारे छलफल गरेका थिए । मन्त्री चौहान तेस्रो बिमस्टेक कृषि मन्त्रीस्तरीय बैठकमा भाग लिन काठमाडौँ आएका थिए ।

भारतस्थित नेपाली राजदूतावासले ट्वीट गर्दै भनिएको छ, “माननीय मन्त्रीहरूद्वारा हस्ताक्षर गरिएको समझदारीपत्रले नेपाल–भारत कृषि सहकार्यलाई अझ सुदृढ बनाउनेछ । यो सम्झौताले खाद्य सुरक्षा, किसानको जीवनस्तर उकास्ने र वातावरणीय रूपमा दिगो कृषि अभ्यासमा दुई देशको साझा प्रतिबद्धता झल्काउँछ ।”

यो समझदारीसँगै नेपालले भारतीय अनुभव, प्रविधि र लगानीमार्फत आफ्नो कृषि प्रणालीमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ । उता, भारतले पनि नेपाली भूगोल, उत्पादन र बजार पहुँचको लाभ उठाउने योजना बनाएको देखिन्छ ।

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरणतर्फ डोर्याउने यो कदम द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरिएको छ ।