राजनीति

गगन थापाको फेसनको संकेत: सेकुलर नेताबाट हिन्दू राष्ट्रको सन्देश?

गगन थापाको फेसनको संकेत: सेकुलर नेताबाट हिन्दू राष्ट्रको सन्देश?

काठमाडौं — “राजनीति त्यागेपछि म देशकै सेवा फरक भूमिकामा गर्छु,” यो भनाइ गगन थापाले झण्डै एक दशकअघि दिएका थिए। त्यो बेला उनले राजनीतिबाट ५५ वर्षमा सन्यास लिने संकल्प पनि दोहो¥याएका थिए। अहिले उनी ४८ वर्ष पुगेका छन्, सक्रिय भूमिकामा छन्, तर त्यो संकल्प फेरि स्मरणीय बन्दैछ—विशेषतः उनले अंगालेको बदलिएको सांस्कृतिक शैलीका कारण।

धेरैको नजरमा गगन थापा सधैं एक विवेकशील, शहरी, आधुनिक र सेकुलर नेताको प्रतिनिधि थिए। उनको स्वर संविधानसभा, गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा घन्किएको थियो। तर अहिले, उनमा देखिएको सांस्कृतिक परिवर्तनले एक फरक बहस जन्माएको छ—के गगन थापा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा हिन्दू राष्ट्रको विचारतर्फ आकर्षित हुँदै छन्?

पछिल्ला दुई-तीन वर्षमा गगन थापाको सार्वजनिक उपस्थिति एकदमै विशिष्ट र चिन्तनप्रेरित देखिन थालेको छ। निधारमा रातो टीका, बालतर्फ टाँसिएको फूल, कतिपयले त जेल लगाएर फूल चिप्काएको ठट्टासम्म गर्छन्। तर यो ठट्टा होइन, गहिरो सन्देश हो, भन्नेहरू पनि छन्। यो स्टाइल केवल फेसन होइन, सन्देश दिनु हो—हिन्दू धर्मप्रतिको आस्था, परम्पराको सम्मान र सम्भवतः हिन्दू राष्ट्रप्रतिको एक सांकेतिक समर्थन।

नेपालमा हिन्दू राष्ट्रको माग राजनीति र सडक दुबैमा उठ्ने विषय हो। राप्रपा, केही स्वतन्त्र सांसद, र विभिन्न धार्मिक संगठनहरूले यो विषयलाई नियमित रूपमा उठाउँदै आएका छन्। २०६३ सालमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएयता पनि हिन्दू राष्ट्रको बहस चिसिएको छैन। यस्तो अवस्थामा गगन थापा जस्तो व्यक्ति, जसले लामो समय धर्मनिरपेक्षताको पक्षमा आवाज उठाएका थिए, अहिले हिन्दू चिन्हहरू बोकेर देखिनु आफैंमा उल्लेखनीय छ।

के यो संकेत उनको बदलिएको दर्शन हो? कि केवल धार्मिक आस्थाको सामान्य अभिव्यक्ति? कि फेसन मार्फत राजनीतिक सन्देश? — यिनै प्रश्नले गगन थापाको स्टाइललाई विश्लेषणीय बनाएको छ। कतिपय विश्लेषकहरू भन्छन्, "गगन थापाको यसरी टीका र फूलको प्रयोगले हिन्दू राष्ट्रको माग गर्ने समूहहरूलाई एक किसिमको 'सांस्कृतिक सम्बोधन' दिएको छ।"

उनले खुला रूपमा हिन्दू राष्ट्रको समर्थन गरेका छैनन्। तर नेपालजस्तो सन्दर्भवादी राजनीतिमा जहाँ संकेतले धेरै कुरा भन्दछ, गगन थापाको हाउभाउ, पोसाक, निधारको साजसज्जाले बहसको मूल फुटाएको छ। विशेषतः जब त्यो नेता राजनीतिक रूपमा ६ वर्षपछि सन्यास लिने तयारीमा छन्, त्यो तस्बिर झनै महत्वपूर्ण हुन्छ। अन्तिम वर्षहरूमा जनतासँग सिधा सम्बन्ध कायम गर्न चाहने नेताहरूले फेसन, शैली र प्रतीकलाई गम्भीर रुपमा लिन्छन्—अनि गगन पनि त्यसैको हिस्सा हुन सक्छन्।

गगन थापाको शैली फेरिनु, टीकाको आत्मीयता बढ्नु, फूलको श्रृंगारमा रमाउनु—यी सबैले संकेत गर्छन् कि अबको गगन केवल विचारले होइन, सांस्कृतिक आत्मसातले पनि जनताको मन जित्न चाहन्छन्। यो केवल सन्यासको तयारी मात्र होइन, सम्भवतः आफ्नो राजनीतिक जीवनको अन्त्यतिर राष्ट्र र धर्मको बहससँग आफूलाइँ पुनःजोड्ने एउटा ढोका खोल्नु पनि हो।

तर अन्तिम निष्कर्ष अझै बाँकी छ। गगन थापा साँच्चै हिन्दू राष्ट्रको पक्षमा उभिन्छन् कि उभिन्नन्, त्यो भविष्यले देखाउने छ। तर हाललाई, निधारको टीका र फूलले भने गहिरो अर्थ बोकेको छ—एक नेता, जसको विचारले देश हल्लाएको थियो, अब शायद उनको शैलीले पनि नयाँ बहस जन्माउँदैछ।

गगन थापा