विदेश

पाकिस्तानप्रति विश्वसमुदायको दृष्टिकोण कडा, भारतको आतंकवादविरोधी सन्देशलाई अन्तर्राष्ट्रिय समर्थन

पाकिस्तानप्रति विश्वसमुदायको दृष्टिकोण कडा, भारतको आतंकवादविरोधी सन्देशलाई अन्तर्राष्ट्रिय समर्थन

भारतले सीमापार आतंकवादविरुद्ध अपरेशन सिन्दूर सञ्चालन गरेपछि पाकिस्तानप्रति विश्व समुदायको दृष्टिकोण झनै कडा बनिरहेको छ। भारतले आतंकवादप्रति शून्य सहिष्णुता अपनाउने नीति सार्वजनिक गरेपछि यसलाई समर्थन गर्ने मुलुकहरूको सङ्ख्या बढ्दो छ। युरोप, खाडी राष्ट्र, र पूर्वी एशियाका धेरै देशहरूले खुलेर भारतको सुरक्षानीतिलाई वैध भनेका छन् भने पाकिस्तानलाई आतंकवादको स्रोतको रूपमा हेर्न थालेका छन्।

हालै भारतको सर्वदलीय संसद टोलीले कतार, जापान, स्लोभेनिया, रुस, र दक्षिण कोरियालगायत देशहरूको भ्रमण गर्दै भारतको सुरक्षा दृष्टिकोण स्पष्ट पारेको थियो। कतारको शूरा परिषद, जापानका सांसदहरू, र रूसी संसद सदस्यहरूसँग भएको वार्ताले भारतले आतंकको सन्दर्भमा लिएको अडानप्रति समर्थन बढाएको छ। कतिपय देशहरूले सार्वजनिक रूपमा आतंकवादको विश्वव्यापी चुनौतीको सन्दर्भमा भारतको अनुभवबाट सिक्ने चाहना समेत व्यक्त गरेका छन्।

बहराइनमा आयोजित कार्यक्रममा सांसद असदुद्दिन ओवैसीले पाकिस्तानलाई “आतंकको कारखाना” भन्नु मात्रै भएन, पाकिस्तानले आफूलाई पीडितको रूपमा प्रस्तुत गरेर संसारलाई झुक्याउने काम गरिरहेको आरोप पनि लगाए। यस्तो अभिव्यक्तिलाई प्रवासी भारतीय समुदायबाट तीव्र समर्थन मिलेको देखिएको छ। त्यस्तै, दक्षिण कोरियामा सांसद संजय झाले दिएको वक्तव्यले पनि पाकिस्तानको छविमा प्रत्यक्ष असर परेको छ। उनले भनेका थिए, पाकिस्तान एउटा असफल राष्ट्र हो जसले विश्वलाई आतंकवाद निर्यात गर्छ।

पाकिस्तानका विरुद्ध यस्ता धारणा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि झनै मुखर बन्दै गएका छन्। कूटनीतिक क्षेत्रका विशेषज्ञहरूका अनुसार पाकिस्तानको भूमिकाप्रति अब सहानुभूतिपूर्ण दृष्टिकोण राख्न कठिन हुँदै गएको छ। भारतले प्रस्तुत गरेका प्रमाणहरू, सुरक्षा खतरा विश्लेषणहरू, र बहुपक्षीय संवादहरूले पाकिस्तानमाथि अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिरहेको छ।

यसबीच संयुक्त राष्ट्रसंघ लगायत बहुपक्षीय मञ्चहरूमा पनि भारतले पाकिस्तानको आतङ्क समर्थन गर्ने व्यवहारको औचित्यमाथि प्रश्न उठाउँदै आएको छ। कतिपय देशका सांसदहरूले खुलेर भनेका छन् कि आतंकवादलाई प्रश्रय दिने राष्ट्रहरूलाई कूटनीतिक बहिष्कार गर्नुपर्छ र संयुक्त प्रतिबन्धको प्रस्ताव अघि सार्नुपर्छ। भारतले यस्ता प्रयासहरूमा नेतृत्वदायी भूमिका खेल्दै आएको देखिन्छ।

पाकिस्तानले यसबीच आफूलाई आतंकवादको शिकार राष्ट्र भनेर देखाउने प्रयास गरेको छ। तर भारतले प्रस्तुत गरेका घटनाहरू—जसमा सीमा पारबाट सञ्चालित आतङ्कवादी हमला, प्रशिक्षण शिविरहरूको उपस्थिति, र अन्तर्राष्ट्रिय आतङ्ककारीहरूको पाकिस्तानमा आश्रय रहेको तथ्य—विश्वसामु प्रस्ट्याउने काम गरेको छ।

आजको अवस्थामा भारतको सुरक्षानीति र प्रतिकारात्मक कदमले पाकिस्तानलाई मात्र होइन, संसारलाई पनि स्पष्ट संकेत दिएको छ कि आतंकको विषयमा अब मौनता स्वीकार्य हुने छैन। भारतले लिएको रक्षात्मकभन्दा आक्रामक रणनीतिले विश्व समुदायलाई गम्भीर ढंगले सोच्न बाध्य बनाएको छ कि आतङ्कवादविरुद्धको संघर्ष केवल क्षेत्रीय होइन, साझा अन्तर्राष्ट्रिय जिम्मेवारी हो।

अबको चुनौती पाकिस्तानका लागि केवल कूटनीतिक अलगाव होइन, विश्वस्तरमा आफ्नो छवि पुनर्निर्माणको हो। भारतले यो मोर्चामा गति लिएको छ, र विश्व समुदाय त्यसको पक्षमा देखिन थालेको छ।