विदेश

बलुच विद्रोहको ज्वालामुखी: पाकिस्तान तहस नहस हुने खतरा, चीनको अर्बौं लगानी जोखिममा!

बलुच विद्रोहको ज्वालामुखी: पाकिस्तान तहस नहस हुने खतरा, चीनको अर्बौं लगानी जोखिममा!

अनिल तिवारी

बलुचिस्तानमा उग्रवादले तीव्रता लिएको छ। दशकौंदेखि आफ्नै नागरिकमाथि पाकिस्तानी सेनाले गर्दै आएको दमनलाई विद्रोही समूहले अहिले ठूलो चुनौती दिएका छन्। केही समय यता सरकार विरोधी पाकिस्तानका सबै प्रमुख आतंकवादी संगठनहरूले आपसी तालमेल बढाएर आक्रमणलाई तीव्रता दिएका छन्, जसले गर्दा पाकिस्तानी सेनालाई चुनौती बढाउनुका साथै पाकिस्तानलाई अस्थिरतातर्फ धकेलेको छ।

केही वर्षयता बलुचिस्तानमा भड्किएको उग्रवाद पाकिस्तानका लागि अशुभ हुँदै गइरहेको छ। ‘रोम जलिरहेको बेला राजा निरोले बाँसुरी बजाइरहे’ जस्तै अहिले इस्लामावादको अवस्था छ। केन्द्रीय सरकारको अझै चेत खुलेको छैन। सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानको अवस्थाप्रति पाकिस्तानी सरकारले गम्भीरता देखाउन नसकेको गुनासो पाकिस्तानमा बढ्दै गएको छ।

बलुचिस्तानमा आतंकवादको आगो पहिलादेखि नै सल्किँदै आएको थियो। उग्रवादको यो ज्वालामुखी दिन प्रतिदिन भयावह बन्दै गएको छ। क्षेत्रफल अनुसार पाकिस्तानको सबैभन्दा ठूलो प्रान्तको वर्तमान अवस्था कसैसँग लुकेको छैन। पाकिस्तान मात्रै नभई पूरै वैश्विक समाजको ध्यान बलुचिस्तानतर्फ केन्द्रित भएको छ। पाकिस्तानी मिडियाले समाचारहरू सेन्सर गरे पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आइरहेका समाचारले बलुचिस्तानको वास्तविकतालाई उजागर गरेका छन्।

तर पाकिस्तानको राजधानीमा एउटा कुरा मात्रै महत्त्व राख्ने गरेको छ, जुन हो सरकारी संस्थानहरूलाई नियन्त्रित गर्नु। पाकिस्तानका सबै सरकारी संस्थाहरू जसरी पाकिस्तानी सेनाबाट नियन्त्रित हुँदै आएका छन्, त्यसले सैन्य हाइब्रिडबाट चलेको पाकिस्तानी प्रजातान्त्रिक सरकारको अस्तित्व बचाउने अभियानमा लागेको देखिन्छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण जनरल आसिम मुनिरको इच्छाबाट सञ्चालित हुने गरेको चर्चा छ।

बलुचिस्तान, खैबर पख्तुनख्वा, सिन्ध र पाकिस्तानको कब्जामा रहेको कश्मीर (पिओके) बाट उठिरहेको विद्रोहको आगोबाट पाकिस्तान खासै सचेत देखिँदैन।

पाकिस्तानी मिडिया अहिले पनि बलुचिस्तानभन्दा बढी चर्चा इमरान खानलाई दिने गरेका छन्। उनीहरूको समाचारको प्राथमिकता बलुचिस्तानमा लागेको डढेलोभन्दा पनि कैदी जीवन बिताइरहेका इमरान खानकै चर्चा परिचर्चामा बित्ने गरेको छ। इमरानले के भने? जेलमा उनी कति कठिन जीवन बिताइरहेका छन्? भन्ने विश्लेषणमा केन्द्रित हुने गरेको छ।

इमरान खानले क्रिकेटमात्रै नभई पाकिस्तानको राजनीतिक परिवेशमा जुन लोकप्रियता बनाएका छन्, जुन भाष्य खडा गरेका छन्, त्यसलाई कमजोर बनाउनमा सरकार र सेना अल्झिएको बताइन्छ। खानको राजनीतिक क्रिया-प्रतिक्रियामा लिइने सरकारको भावी नीतिकै प्रचारबाजीलाई पाकिस्तानी सञ्चारमाध्यमहरूले पछ्याइरहेका हुन्छन्।

पाकिस्तानको स्थापनादेखि नै बलुचिस्तान इस्लामावाद र लाहौरबाट टाढिँदै आएको छ। केही वर्ष पहिलासम्म बलुचिस्तानमा चलिरहेको उथलपुथल र पहाडी एरियामा हुने विस्फोटक घटनाबाट इस्लामावाद खासै चिन्तित थिएन।

तर केही महिना यता, जमियत उलेमा-ए-इस्लामका नेता मौलाना फज्ल-उर-रहमानले पाकिस्तानको ‘नेशनल एसेम्बली’मा बोल्दै भने, ‘बलुचिस्तानका पाँचदेखि सात जिल्ला आफूलाई पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गर्ने अवस्थामा पुगिसकेका छन्’ र ‘उनीहरूले घोषणा गरेलगत्तै, संयुक्त राष्ट्रसंघले पनि उनीहरूलाई अविलम्ब नयाँ राष्ट्रको मान्यता दिने अवस्था छ’।

मौलाना फज्ल-उर-रहमानको यो बयानपछि पाकिस्तानको जनता र सरकारी ओहदामा रहेकाहरू झस्किएका छन्। बलुचिस्तानमा उग्रवादको ज्वालामुखीले लिइरहेको विस्फोट र खराब हुँदै गएको अवस्थाबारे उनीहरू झस्किएका हुन्। हुन त, मौलानाले त्यहाँको अवस्था बताउने वेलामा बढी नै सेन्टिमेन्टल भएको आरोप पाकिस्तानी मिडियाहरू लगाउँछन्, विशेष गरी संयुक्त राष्ट्र संघले बलुचिस्तानलाई स्वतन्त्रता प्रदान गर्ने कुरालाई लिएर।

तर, मौलाना फज्ल-उर-रहमानले संसदमा उठाएको कुरा र बलुचिस्तानको धरातलीय यथार्थता पनि त्यही हो भन्ने धेरैको बुझाइ छ। किनकि मौलाना रहमान बलुचिस्तानलाई राम्रोसँग जान्ने-बुझ्ने धार्मिक नेता हुन्। त्यसैले त्यहाँ चलिरहेका सबै गतिविधिको बारे उनी राम्रो जानकार भएको पाकिस्तानमा मानिन्छ।

मौलाना फज्ल-उर-रहमानपछि ‘नेशनल एसेम्बली’मा नेता प्रतिपक्ष उमर अयुबले पनि बलुचिस्तानका आधा दर्जन जिल्ला पाकिस्तानको पकडभन्दा बाहिर गइसकेको प्रति ध्यानाकर्षण गराएका छन्। उमर अयुबले संसदमा दिएको बयान अनुसार यी सबै जिल्लाहरूमा पाकिस्तानको झन्डा हटाएर बलुचिस्तानको झन्डा फहराइएको छ।

बलुचिस्तानको ‘विद्रोह’

सेना नियन्त्रित अधिकारीहरूले पनि बलुचिस्तानको खराब हुँदै गएको अवस्थाप्रति चिन्ता जाहेर नगरेका होइनन्। प्रधानमन्त्री शहबाज शरिफका निजी सल्लाहकारमध्ये एक पूर्वगृहमन्त्री राना सनाउल्लाहले पनि बलुचिस्तानबारे सरकारलाई चेतावनी दिएका थिए। हतियारधारी संगठनहरू पहाडबाट तल झरेर बलुचिस्तानमाथि आफ्नो आधिपत्य जमाएको कुरा धेरै पहिले उनले पनि उठाइसकेका छन्।

शुरुमा बलुचिस्तानबारे सरकारी अधिकारीहरू वास्तविकताभन्दा परम्परागत सोचमा रहँदै आएका थिए। तर बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले प्रान्तको अवस्था धेरै खतरनाक भइसकेको भनेपछि पाकिस्तानको सरकारी चिन्ता बढ्नु स्वाभाविकै हो।

यद्यपि, केही दिन वा केही घण्टाबाहेक उग्रवादीहरूले स्थायी रूपमा कुनै पनि क्षेत्रमा पकड बनाउन सकेका छैनन्। बलुच उग्रवादीहरू ठूला हाइवे, रेलवे वा हवाई अड्डाहरूमाथि आक्रमण गरेर केही घण्टाका लागि आफ्नो नियन्त्रणमा लिएर पाकिस्तानी सेना लगायत सरकारी सुरक्षाबललाई ठूलो क्षति पुर्‍याउँदै आएका छन्।

यसले पाकिस्तानी सेनामा मनोवैज्ञानिक त्रास पैदा गरेको छ। जसलाई जिम्मेवार प्रशासकले हल्का रूपमा लिनु पाकिस्तानका लागि ठूलो घाटाको विषय हुनेछ।

बलुच उग्रवादीद्वारा क्रमशः ‘एकपछि अर्को’ गरिएका कतिपय ठूला हमलाले पाकिस्तानी सरकार र सेनालाई ठूलो झट्का दिएको छ। सरकार र जर्जर बन्दैगएको पाकिस्तानी अर्थतन्त्रलाई यसले गहिरो घाउ दिएको छ।

उग्रवादी संगठनहरूले गर्दै आएका ठूला आक्रमणले गर्दा मुलुकमा अनिश्चितता बढाएको छ। जसले मूलभूत ढाँचा र बलुचिस्तानमा चलिरहेका विकास तथा खनन परियोजनाहरूमा गरिएको विदेशी लगानी (विशेष गरी चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गतका परियोजनाहरू) जस्ता आकर्षित र महत्त्वाकांक्षी योजनामाथि ठूलो चुनौती उत्पन्न गरेको छ।

समय परिस्थितिलाई मध्यनजर गरेर स्थानीय चार उग्रवादी संगठन - बलूच लिबरेशन आर्मी (बीएलए), बलूचिस्तान लिबरेशन फ्रन्ट (बीएलएफ), बलूचिस्तान रिपब्लिकन गार्ड (बीआरजी) र सिन्धुदेश रिभोलुसनरी आर्मी (एसआरए) - को संयुक्त संगठन बलूच राजी आजोई संगार (बीआरएएस) को एकीकृत कमान्डमा एक बलूच नेशनल आर्मी बनाउने घोषणा गरिएको छ। यसले बलुचिस्तानको स्वतन्त्रताका लागि ‘अलग अलग सानातिना हमला गर्नुभन्दा पनि संगठित भएर निर्णायक लडाइँ र हमला गर्ने’ उद्घोष गरेको छ।

यसले पाकिस्तान र त्यसको सबैभन्दा ठूलो संरक्षक चीनको विरोधमा युद्धको शंखघोष गरेको छ। आक्रमणलाई आक्रामक बनाउनुका साथै गुरिल्ला अभियानलाई बढी घातक बनाइने कुरालाई तीव्रता दिइएको छ। पाकिस्तान र चीनलाई ठूलो धक्का दिनका लागि बीआरएएसले निर्णय नै गरेको छ, जसमा ‘बलुचिस्तानका सबै प्रमुख राजमार्गलाई नाकाबन्दी गर्ने र बाहिरबाट आएर कब्जा जमाउन खोज्ने बाहिरी आवागमनलाई निषेध गर्ने’ उल्लेख छ। साथै सरकारी ‘आर्थिक र सैन्य’ हितका सबै गतिविधिलाई चोट पुर्‍याउने नीति आक्रमणकारीहरूको रहेको छ।

पाकिस्तानमा उग्रवादको नयाँ लहर

यता आएर केही उग्रवादी आक्रमणले पाकिस्तानी सुरक्षा बललाई ठूलो क्षति पुर्‍याएको छ। फेब्रुअरीको शुरुआतमा उग्रवादीले कालातमा सेनालाई लिएर गइरहेको गाडीमाथि घातक हमला गरेका थिए, जसमा पाकिस्तानका १७ सैनिक मारिएका थिए। त्यसको दुई साता नबित्दै मन्द इलाकामा पाकिस्तानी सेनाको एउटा चौकी र एउटा काफिलामाथि गरिएको हमलामा पुनः १७ पाकिस्तानी सैनिक मारिएका छन्।

उग्रवादीहरूले हरनाईको खानीका लागि मजदुर लिएर गइरहेको बसलाई निशाना बनाएका छन्, जसमा ११ जनाको मृत्यु भएको छ। यस्ता घटनाहरू बढ्दो क्रममा छन्, जसले पाकिस्तानको सुरक्षा संयन्त्र र स्थिरतामाथि गम्भीर प्रश्न उठाएको छ।