विदेश

अपरेशन सिन्दूर: भारतीय सैन्य रणनीतिमा आमूल परिवर्तनको संकेत

अपरेशन सिन्दूर: भारतीय सैन्य रणनीतिमा आमूल परिवर्तनको संकेत

अपरेशन सिन्दूरको सफलताले भारतको रक्षा नीतिमा आमूल परिवर्तन ल्याएको छ। यो अभियान केवल एक सैन्य प्रतिक्रिया मात्र थिएन, यो भारतको नयाँ सामरिक सोच, आत्मनिर्भर प्रविधिको प्रयोग र क्षेत्रीय सुरक्षा संरचनामा अग्रसर भूमिका लिने संकल्पको घोतक बनेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले प्रतिरक्षा रणनीतिमा गहिरो पुनःसंरचना गर्दै युद्ध र शान्तिको सन्तुलनमा सशक्त पहिचान बनाएको संकेत दिएको छ।

यो अपरेशनपछि भारतले ‘डिटेरेन्स थ्रु प्रिसिजन’ अर्थात् “सूक्ष्मता मार्फत प्रतिरोध” नीतिमा निर्भर रहन थालेको देखिन्छ। यसमा स्वदेशी प्रविधिमा आधारित प्रणालीहरू, जस्तै ड्रोन, मिसाइल, साइबर इन्फ्रास्ट्रक्चरको प्रयोग उल्लेखनीय रहेको छ। भारत अब केवल आयातित अस्त्र प्रयोग गर्ने देश रहेन, तर निर्यात गर्न सक्ने शक्ति पनि बन्ने दिशातर्फ बढेको छ। यसले स्पष्ट देखाउँछ कि भारत अब केवल आन्तरिक सुरक्षा वा सीमापार आतंकवादको प्रत्युत्तर दिने होइन, सुरक्षा परिवेशमा सक्रिय आकार दिने रणनीति अङ्गिकार गर्दैछ।

अपरेशन सिन्दूरको प्रभाव केवल सैन्य मात्र रहेन, यसले कूटनीतिक मञ्चहरूमा पनि भारतको धारणा स्पष्ट गर्‍यो। भारतका परराष्ट्र मन्त्री एस जयशंकरले विभिन्न अन्तर्राष्ट्रिय भ्रमणहरूमा भारतको सुरक्षा नीति र आतंकवादप्रतिको दृष्टिकोणमा ‘शून्य सहनशीलता’ कायम रहेको कुरा दोहोर्‍याए। यसले भारतलाई विश्वमञ्चमा विश्वासिलो सुरक्षा साझेदारको रूपमा स्थापित गराएको छ।

पाकिस्तानको भूमिमा सञ्चालित आतंकवादी पूर्वाधारप्रति भारतको आक्रोश र प्रतिरोध अब केवल वक्तव्यमा सीमित छैन, यो अब कार्यमा रूपान्तरण भइसकेको छ। भारतले स्पष्ट सन्देश दिएको छ– यदि कुनै मुलुक वा संगठनले भारतीय नागरिक र सुरक्षामा खतरा उत्पन्न गर्छ भने त्यसको परिणाम तुरुन्त र दृढ हुनेछ।

युरोपियन युनियन, कंगो, स्लोभेनिया, इटाली लगायतका थुप्रै देशहरूले भारतको अपरेशन सिन्दूरप्रति ऐक्यबद्धता प्रकट गरेका छन्। कतार, नेपाल, श्रीलंका लगायतका छिमेकी मुलुकहरूले पनि आतंकवादको विरुद्ध भारतको धारणा समर्थन गरेका छन्। यसरी भारतले केवल एक सैन्य विजय होइन, अन्तर्राष्ट्रिय समर्थनको विजय पनि हासिल गरेको छ।

समग्रमा अपरेशन सिन्दूरले भारतको रक्षा दर्शनलाई पुनः परिभाषित गरिदिएको छ। भविष्यमा यदि भारतको सुरक्षालाई चुनौती दिइयो भने त्यो चुनौती रणनीतिक सूक्ष्मतासहित, उच्च प्रविधिबाट र अन्तर्राष्ट्रिय समर्थनका साथ जवाफ दिइनेछ भन्ने कुरामा अब कुनै द्विविधा बाँकी छैन।