"गनगन नगर नबिना, अब सिधा मैदानमा उत्रिन्छौं!" — NMC भित्रको युद्ध बाहिर फैलिँदै

यहाँ हामी तपाईंलाई एक महत्वपूर्ण खुला पत्र प्रस्तुत गर्दैछौं, जुन नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीज्यूलाई दिनेश पोखरेलले लेख्नुभएको छ।
डा. अन्सारीजीले भारतीय दूतावासको छात्रवृत्तिमा चिकित्सा शिक्षा पूरा गर्नुभएको हो भने, अहिले उहाँका छोराछोरीले पाकिस्तानमा अध्ययन गरेर क्रमशः नेशनल मेडिकल कलेज, बिरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंको व्यवस्थापन सम्हालेका छन्। नेशनल मेडिकल कलेज मधेश क्षेत्रको राजनीतिक र धार्मिक रूपमा एउटा संवेदनशील केन्द्र बनिसकेको छ, जहाँ कलेज परिसरमा मस्जिदसमेत रहेको बताइन्छ। नेपाल मेडिकल कलेजको मेनेजिङ्ग डाइरेक्टर उहाँकी छोरी हुन् भने नेशनल मेडिकल कलेजको मेनेजिङ्ग डाइरेक्टर उहाँकै छोरा हुनुहुन्छ।
हालै नेपाल मेडिकल कलेजमा उठेका विवादहरूलाई लिएर, उहाँका पूर्व कर्मचारी दिनेश पोखरेलले आफ्नो अनुभव र चिन्ताहरूलाई समेट्दै साहसपूर्वक यो पत्र लेख्नुभएको छ, जसले कलेजको व्यवस्थापन र कर्मचारीहरूप्रति व्यवहारका गम्भीर प्रश्नहरू उठाएको छ।
अब तपाईंलाई पढ्न दिन चाहन्छौं, दिनेश पोखरेलले अध्यक्ष जैनुद्दिन अन्सारीज्यूलाई लेखेको त्यो खुल्ला पत्र — जसमा उनले आफ्नो मनका कुरा र प्रश्नहरू राखेका छन्।
श्रीमान् जैनुदिन अन्सारीज्यू
अध्यक्ष, नेपाल मेडिकल कलेज
सादर नमस्कार,
अहिले तपाईंले नेतृत्व गरिरहनु भएको स्वास्थ्य संस्था, नेपाल मेडिकल कलेजको स्थापना, विकास, वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे एक पूर्व कर्मचारी तथा कर्मचारी नेतृत्वकर्ता को हैसियतले केही विचार व्यक्त गर्न चाहन्छु। आशा छ, यहाँले यस आलेखलाई ध्यानपूर्वक पढेर आवश्यक कदम चाल्नुहुनेछ।
नेपाल मेडिकल कलेज २०५० मा डा. राम रत्न उपाध्याय, चेत राज पन्त र इन्जिनियर दीपक भट्टराईको संयुक्त प्रयासमा, डा. राम रत्न, दीपक भट्टराई र लम्बोधर न्यौपानेले तयार पारेको कार्यपत्र अनुसार, डा. सच्चे कुमार पहाडी, डा. राम प्रसाद पोखरेल र डा. अन्जनी कुमार शर्मालाई समेत समेटेर, २०५२ साल फागुन २५ गते शुक्रवार, कुपन्डोलस्थित इन्जिनियरिङ कलेजको सभाकक्षमा बैठक गरी नेपाली जनताको मात्र लगानी र नेपालीहरूले संचालन गर्ने लक्ष्यका साथ विधिवत रूपमा स्थापना गरिएको हो।
यो मेडिकल कलेज प्रारम्भमा नाफा रहित सेवा भावना अनुरूप खोलेको हुँदा संघ संस्था ऐन २०३४ अनुसार दर्ता गरिएको हो।यसको उद्देश्य नेपालको भूभागलाई एक सतहमा ल्याउनु हो, जहाँ २०० मिटर देखि ८८४८ मिटर सम्मको भौगोलिक क्षेत्रसमेत पर्दछ। यहाँ बसोबास गर्ने मानव र जीवात्माहरूको भूगर्भीय अध्ययन र अनुसन्धानको अभावलाई सम्बोधन गर्दै, मेडिकल कलेजमा वैज्ञानिक अनुसन्धानको प्रवर्द्धन गर्ने र मेडिकल तथा इन्जिनियरिङ कलेजको अधिकारसहित एक प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने लक्ष्य राखिएको थियो।
यसरी स्थापना भएको मेडिकल कलेज सञ्चालनका लागि विभिन्न क्षेत्रका अनुभवी विद्वान र प्राविधिक जनशक्ति आवश्यक प¥यो, जुन जुटाउन कठिन थियो। यस समस्यालाई समाधान गर्न शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल सरकारका कर्मचारी तथा केही निजी क्षेत्रका विज्ञ कर्मचारीहरूलाई सरकारी तलबभन्दा करिब ५०% बढी तलब सुविधा प्रदान गरी समेटिएको थियो।
यसै क्रममा डा. शेखर बाबु रिजाल, डा. श्याम प्रसाद भट्टराई, डा. जिष्णु रिजाल, डा. भोला रिजाल, डा. उपेन्द्र देवकोटा, वियोगी बुडाथोकी, ध्रुवबहादुर बस्नेत, राजेश श्रेष्ठ लगायतका कर्मचारी र संचालकहरूको योगदानले मेडिकल कलेजको भौतिक र आर्थिक अवस्था सुधार्दै आएको छ।
सुरुबाट नै स्थानीय जनता र जनप्रतिनिधिहरूले सहयोग पुर्याउँदै आए र त्यहाँ काम गर्ने कर्मचारीहरूले ‘यो मेडिकल कलेज मेरो पनि हो’ भन्ने भावनाका साथ सेवा प्रवाह गरेकाले अहिले तपाईं गर्व गर्न लायक मेडिकल कलेज सञ्चालक हुनु भएको छ।यस मेडिकल कलेजको संचालन निरन्तर उकालो लागेपछि केही स्वार्थी संचालकहरूले कम्पनी ऐनअन्तर्गत दर्ता गरी प्रत्येक वर्ष नाफा आफ्नै झोलामा घरतिर लैजान सुरु गरे, किनभने संघ तथा संस्था ऐनअन्तर्गत दर्ता भएका संस्थाले नाफा लैजान पाउँदैनथे। समय बित्दै गयो, पुराना संस्थापक र संचालकमध्ये कोही स्वर्गीय भए भने कोही असक्त भए। अब उनीहरूको ठाउँमा उनीहरूको छोरा–बुहारीहरू पैत्रिक सम्पत्ति हकदारको रूपमा प्रवेश गरे।
छोरा–बुहारीको प्रबेस पछि जग्गाको मूल्य वृद्धि र मेडिकल कलेजका शेयर वृद्धिलाई ध्यानमा राखेर शेयर बेचेर आफ्नो हिस्सा कति आउला भनेर रातदिन हिसाब गर्न थाले र मेडिकल कलेज बेच्न दबाब दिन थाले। यस्तो दबाब सहन नसकेपछि डा. भोला रिजाल, डा. शेखर बाबु रिजाल, डा. श्याम प्रसाद भट्टराई र डा. राजेश किशोर श्रेष्ठजस्ता संचालकहरूले पनि मेडिकल कलेज बेच्न सहमति जनाए र अहिले यो कलेज तपाईंहरूको हातमा आएको छ।
तपाईं दुइ दाजुभाइको हातमा मेडिकल कलेज आएपछि युनियनको स्वागत समारोहमा मैले भनेको कुरा मलाई अझै सम्झना छ—काठमाडौं मेडिकल कलेजका नयाँ संचालक सुनिल शर्माले जस्तै कर्मचारीलाई घरपकट गर्ने र दुख दिन नपाउने चेतावनी दिएको थिए, नभए तपाईंहरूको दुर्दशा सुरु हुन्छ भनेको थिए।
आज नेपाल मेडिकल कलेजबाट दैनिकजस्तो मलाई समेत सहयोगका लागि आग्रह र कानुनी अधिकार तथा संघर्ष सँग सम्बन्धित सहयोगको लागि फोनहरू आइरहेका छन्। संचालकज्यू, तपाईँलाई जानकारी दिन चाहन्छु, २०६५ सालको वडा दशैँको अवसरमा कर्मचारी युनियनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तत्कालीन अध्यक्ष डा. संञ्चे कुमार पहाडीले भन्नुभएको थियो—“यो मेडिकल कलेजमा आउने कुनै पनि बिरामी पैसाको अभावमा उपचार नपाएर फर्कन नपरोस्, सबै कर्मचारीले यो कुरालाई ध्यानमा राखेर काम गर्नुपर्छ।”
कृपया यो बाक्य तीनपटक दोहोर्याएर पढ्नु होला। सायद यो सुन्ने राजेश किशोर श्रेष्ठ अहिलेसम्म तपाईँसँगै हुनुहुन्छ। कहाँ थियो मेडिकल कलेज, र अहिले कहाँ पुर्याउनु भयो? अहिले त्यहाँ काम गर्ने कर्मचारीहरूलाई व्यापक रुपमा मानसिक तनाव दिइँदै, धम्की दिइ धरपकड़ र जागिर छोड्न बाध्य पारिएको, सहिछाप गर्न लगाइएको सुनिन्छ।
अध्यक्षज्यू, सबै मानिस एक पटक मर्ननै पर्छ। तपाईँहरूको दाजुभाइबीचको झगडा र स्वास्थ्य अवस्थाको विषयमा मैले जानकारी राखेको छु। कृपया इश्वरलाई सम्झेर भए पनि ती निर्दोष कर्मचारीमाथि भइरहेको धरपकड़ बन्द गर्नुस् र तपाईँकी छोरी र वरिष्ठ कर्मचारीको अत्याचारलाई अन्त्य गरिदिनुस्। जति कमाए पनि लिएर जाने होइन।
हामीलाई थाहा छ तपाईँहरूले कानुन उल्लङ्घन गर्दै कति कामहरू गर्नुभएको छ। अस्पतालको ल्याब ठेकामा दिन कुन कानुनले अनुमति दिन्छ? हेमोडायलासिस सेवा ठेक्कामा लगाउन कुन कानुनको आधार लिनुभएको हो? श्रम ऐनको दफा ३४ अन्तर्गत दिइएको सुविधा कुनै पनि हालतमा रद्द गर्न पाइँदैन। तर के तपाईँलाई कानुन लाग्दैन?
तपाईँहरूले धेरै कर्मचारीहरूलाई निकालिसक्नु भएको छ। अब यस्तो ‘भोको पेटमा लात हान्ने’ काम बन्द गर्नुहोस्। यसले तपाईको यो जुनी र अर्को जुनीमा समेत हित गर्दैन। भन्छन आसुले अबस्य पिरछ । नेपाल मेडिकल कलेजमा काम गर्ने मेरा आदरणीय कर्मचारी साथीहरू, मलाई माफ गर्नुहोला, म तपाईँहरूको साथमा रही सँगै लड्न सकिनँ, तर म अझै पनि नेपालको स्वास्थ्य क्षेत्रमा कर्मचारीको श्रमशोषण अन्त्यका लागि केन्द्रिय स्तरमा लडिरहेको छु।
अहिले त्यहाँको अवस्था हेर्दा कर्मचारी साथीहरूलाई फेरि जागरुक हुनुपर्ने देखिन्छ। एक जुट भएर लड्दा कसैले पनि रोक्न सक्दैन। संगठन नै शक्ति हो। त्यसैले अब फेरि समय आएको छ, तपाईँहरू नयाँ सिराबाट सगठित हुनुहोस्। हामी तपाईँहरूलाई आवश्यक पर्ने मानवीय र कानुनी सहयोग निशुल्क रूपमा उपलब्ध गराउन तयार छौँ। अन्त्यमा, तपाईँ सबै पिडित कर्मचारीहरूको दुखलाई हामी एकजुट भएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
अध्यक्षज्यू, यो चिठ्ठी केही लामो भयो, गल्ती भए क्षमा चाहन्छु। म तपाईँको संस्था र गतिविधिलाई नजिकबाट नियाल्नेछु। अहिलेलाई यति नै।
दिनेश पोखरेल, सह-अध्यक्ष, राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (UNIPHIN), माइतीघर
नेपाल मेडिकल कलेज