नेपाल आज विशेष

उइघुर श्रमिक शोषणमा सामेल पश्चिमी कम्पनीहरू: चीनको मानवअधिकार उल्लङ्घनमाथि पुनः प्रश्न उठ्दै

उइघुर श्रमिक शोषणमा सामेल पश्चिमी कम्पनीहरू: चीनको मानवअधिकार उल्लङ्घनमाथि पुनः प्रश्न उठ्दै

चीनको शिनजियाङ प्रान्तमा उइघुर मुस्लिमहरूका विरुद्ध भइरहेको राज्य नियन्त्रित दमन र श्रमिक शोषणले पुनः अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ। हालै प्रकाशित एक विस्तृत अनुसन्धानले खुलासा गरेको छ कि दर्जनौं पश्चिमी बहुराष्ट्रिय कम्पनीहरू—जसमा इलेक्ट्रोनिक्स, फेसन, अटोमोबाइलदेखि उपभोक्ता वस्तु उत्पादनमा संलग्न ब्रान्डहरू समावेश छन्—शिनजियाङ क्षेत्रको जबरजस्ती श्रम व्यवस्थासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्।

शिनजियाङ क्षेत्रमा करिब १० लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकहरू “पुनः शिक्षण केन्द्र” को नाममा थुनिएर रहेका छन्। मानवअधिकारवादी संस्था र पूर्व पीडितहरूको बयान अनुसार यी केन्द्रहरू वास्तवमा श्रम शिविरको रूपमा प्रयोग गरिन्छ जहाँ उइघुरहरूलाई धार्मिक विश्वास त्याग्न बाध्य पारिन्छ र उनीहरूलाई नाम मात्रको पारिश्रमिकमा काम गर्न लगाइन्छ।

“बिटर विन्टर” जस्ता स्वतन्त्र स्रोतहरूले गरेको अनुसन्धानमा देखिएको छ कि सन् २०२4 भित्र पनि पश्चिमी कम्पनीहरूले आपूर्ति श्रृंखलामा शिनजियाङमा उत्पादित कच्चा पदार्थ वा वस्तुहरू प्रयोग गरिरहेका छन्। कतिपय कम्पनीहरू “थर्ड पार्टी सप्लायर” मार्फत जबरजस्ती श्रम प्रयोग गर्ने कारखानासँग सम्बन्धित रहेको प्रमाणित भएको छ। यसरी, प्रत्यक्ष रूपमा चीनको उइघुर शोषणको चक्रमा उनीहरूको संलग्नता रहेको देखिन्छ।

प्रमुख मानवअधिकार संस्थाहरू, जस्तै Human Rights Watch र Amnesty International, ले यी कम्पनीहरूमाथि गम्भीर आक्षेप लगाएका छन् र उनीहरूलाई आपूर्ति श्रृंखला परीक्षण गरी जबरजस्ती श्रमबाट अलग हुन आग्रह गरेका छन्। यता, धेरै कम्पनीहरूले “हामी हाम्रो सप्लायर्ससँग उच्च नैतिक मापदण्डको अपेक्षा राख्छौं” भन्ने प्रेस वक्तव्य जारी गरे पनि, ठोस कारबाही वा पारदर्शिता देखिएको छैन।

अमेरिकाले “उइघुर जबरजस्ती श्रम निवारण ऐन” अन्तर्गत केही चिनियाँ कम्पनीहरूको सामान आयातमा प्रतिबन्ध लगाएको छ। युरोपेली संघले पनि यसबारे छानबिन सुरु गरिसकेको छ। तर समस्या समाधानको लागि यथेष्ट कदम नचालिएको भन्दै आलोचना भइरहेको छ। एकातर्फ अन्तर्राष्ट्रिय समुदायले चीनको आन्तरिक मानवअधिकार उल्लङ्घनलाई निन्दा गर्छ, अर्कोतर्फ तिनै देशका कम्पनीहरू चीनको श्रमशोषणमूलक प्रणालीसँग जोडिएर मुनाफा कमाइरहेका छन् भन्ने विरोधाभास आजको गहिरो नैतिक प्रश्न बनेको छ।

यो खुलासा केवल श्रमिक अधिकारको प्रश्न होइन—यो प्रश्न हो उपभोक्ताहरूको चेतनाको, कम्पनीहरूको नैतिकताको, र मानवताको लागि सिङ्गो विश्व समुदायको प्रतिबद्धताको। चीनमा उइघुरहरूमाथि भइरहेको अन्यायलाई व्यापारको पर्दा लगाएर ढाक्ने अभ्यास आजको सभ्यताका लागि कलंक सावित हुन सक्छ। यस्तो अवस्थामा सबै देश र कम्पनीहरूले आफ्ना गतिविधिमा पारदर्शिता, नैतिकता र मानव अधिकारलाई केन्द्रमा राख्न बाध्य हुनुपर्ने समय आइसकेको छ।