विदेश

माल्दिभ्समा चिनियाँ पर्यटन सम्झौता र एफटीएले स्थानीय रोजगारी संकट निम्त्यायो

माल्दिभ्समा चिनियाँ पर्यटन सम्झौता र एफटीएले स्थानीय रोजगारी संकट निम्त्यायो

माले, असार ११ — माल्दिभ्स सरकारले चीनसँग गरेको स्वतन्त्र व्यापार सम्झौता (एफटीए) र पछिल्ला पर्यटन विकास सम्झौताहरूले स्थानीय समुदायको जीविकामा गम्भीर असर पारिरहेको सार्वजनिक बहसको विषय बनेको छ। चिनियाँ कम्पनीहरूद्वारा निर्माण गरिएको रिसोर्ट तथा पूर्वाधारले परम्परागत माछा मार्ने र घरेलु पर्यटन व्यवसाय गर्नेहरूलाई विस्थापित गर्दै लगेको स्थानीय नेताहरूको भनाइ छ।

माले विश्वविद्यालयका आर्थिक विश्लेषक मोहम्मद राशिद भन्छन्, “चीनसँगको एफटीएले घरेलु उत्पादनमाथि दबाब बढाएको छ, किनभने सस्तो मूल्यमा आयात हुने चिनियाँ सामानले स्थानिय उत्पादन प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।” उनले थपे, “टूरिजम सेक्टरमा चिनियाँ लगानीकर्ताको प्रमुखता बढ्दै जाँदा स्थानीय उद्यमीहरूको अवसर घट्दै गएको छ।”

यता माल्दिभ्स सरकार भने चिनियाँ साझेदारीलाई देशको आर्थिक वृद्धिको मेरुदण्ड भन्दै आएको छ। राष्ट्रपति कार्यालयका एक प्रवक्ताले भने, “हामीले चिनियाँ साझेदारसँग सहकार्य गर्दा प्राविधिक विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जना गर्न खोजिरहेका छौं। तर आलोचना पनि सुन्न तयार छौं।”

स्थानीय समुदायहरू भने थोरै पारिश्रमिकमा काम गर्न बाध्य हुनु परेको, श्रम अधिकार कमजोर भएको र चिनियाँ कम्पनीहरूबाट पर्यावरणीय नियमहरूको उल्लंघन भइरहेको गुनासो गरिरहेका छन्। पर्यावरणवादीहरूका अनुसार केही रिसोर्ट निर्माणले कोरल रीफमा दीर्घकालीन क्षति पु-याएको छ, जसले समुद्री जैविक विविधता र परम्परागत जीविकामा असर गरेको छ।

पूर्वमन्त्री अब्दुल्ला जामिलका अनुसार, “हामीले शर्त नभएको लगानीको स्वागत गरेका थियौं तर अब देखिँदैछ, ती लगानीहरू शर्तैशर्तमा आएका रहेछन्—स्थानीय जनताको भलाइभन्दा माथि चिनियाँ प्राथमिकता।”

विश्लेषकहरूले माल्दिभ्सको अवस्था चीनको “ऋण फन्दा कूटनीति” (Debt Trap Diplomacy) अन्तर्गत पर्नसक्ने चेतावनी दिइरहेका छन्। चीनसँग अत्यधिक ऋण बोकेको श्रीलंका र पाकिस्तानको उदाहरण देखाउँदै उनीहरूले माल्दिभ्सलाई सजग रहन सल्लाह दिएका छन्।