समाचार

नेपाल मेडिकल कलेज: नकली नर्स, धम्की दिने डाइरेक्टर र अब घुस दिने अस्पताल!

नेपाल मेडिकल कलेज (NMC) मा 'नेपाल आज' को समाचारपछि सन्नाटा, हाकिमदेखि नर्ससम्म तनावमा

नेपाल मेडिकल कलेज: नकली नर्स, धम्की दिने डाइरेक्टर र अब घुस दिने अस्पताल!

काठमाडौं – केही दिनअघि Nepalaaja.com मा प्रकाशित नेपाल मेडिकल कलेज (NMC) सम्बन्धी समाचारले हाल अस्पतालको भित्री वातावरणमा गहिरो हलचल ल्याएको छ। दैनिक भीडभाड हुने यो शैक्षिक अस्पतालमा अहिले सन्नाटा छाएको छ। कर्मचारीहरू अन्योल र त्रासमा छन्—"अब के हुन्छ?" भन्ने चिन्ता हरेक अनुहारमा देखिन्छ।

एकजना राम्री, सुन्दरी नर्सलाई लिएर विवाद चुलिएको छ। उनीबारे आरोप लागेको छ कि उनले नेपालमा नर्सिङ पेशा गर्न आवश्यक लाइसेन्स नै प्राप्त गरेकी छैनन्। समाचार बाहिरिएपछि उनी गहिरो मानसिक तनावमा छिन्। तर, NMC भित्र भने उनी ‘अदृश्य शक्ति’को रूपमा परिचित छिन्। एकजना नर्सले हामीसँग भनिन्, "हाकिमहरू यिनकै फरिया समातेर हिँड्छन्।" उनी भारतमा अध्ययन गरेकी बताइन्छ, तर उनी नेपाली नागरिक हुन् वा विदेशी, अझै खुलिसकेको छैन।

यसै घटनापछि NMC का अध्यक्ष र प्रबन्ध निर्देशकले आकस्मिक बैठक डाकेका छन्। बैठकपछि सञ्चारमाध्यमलाई कसरी ‘ह्यान्डल’ गर्ने भन्नेबारे आन्तरिक निर्णय लिइएको छ। स्रोतका अनुसार, नेपाल आज का सम्पादकलाई NMC का मेडिकल डाइरेक्टर डा. नीलमणि उपाध्यायले व्यक्तिगत रूपमा धम्कीसमेत दिएका थिए।

प्रशासनले कर्मचारीहरूलाई मिडियासँग नबोल्न, मिडियाकर्मी आए निगरानीमा राख्न निर्देशन दिएको छ। यसले NMC भित्र खुला संवादको वातावरणमा झनै दबाब सिर्जना गरेको देखिन्छ।

यसैबीच, चिकित्सा शिक्षा आयोग (MEC) ले पनि घटनाको गम्भीरता बुझेको छ र निरीक्षण टोली पठाउने तयारी भएको छ। तर, स्रोतहरूका अनुसार NMC पक्ष भने निरीक्षण टोलीलाई ‘मैनेज’ गर्ने तयारीमा जुटेको छ। अस्पतालको संरचना, दक्ष जनशक्ति, तथा बिरामीको संख्या मापदण्डअनुसार नभएको खुलेको छ। "नर्सहरू नै नकली छन्, डाक्टरहरू नि त्यस्तै होलान," भन्ने टिप्पणी खुला रूपमा सुनिन थालेको छ।

सूत्रले बताएअनुसार, नेपाल मेडिकल कलेज (NMC) ले निरीक्षण टोलीलाई प्रभावित पार्न ठूलो मात्रामा घुस दिने योजना बनाएको छ। अस्पतालले आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र बिरामी संख्या जस्ता मापदण्ड पूरा नगरेको अवस्था लुकाउन यस्तो प्रयास गरिरहेको हो। निरीक्षण प्रक्रिया निष्पक्ष हुन सक्नेमा अब गम्भीर शंका उत्पन्न भएको छ

हामीले एक सूचना स्रोतलाई सम्पर्क गर्दा उनले भने, "कुरा गर्न मिल्दैन, एमडी मेडमले मलाई निगरानीमा राख्नुभएको छ। भोलि बेलुकी भेटेर कुरा गरौंला।"

NMC भित्र यतिबेला कोलाहल छैन, तर दबिएको असन्तोष बल्झिन थालेको छ। प्रश्नहरू उठिरहेका छन्—कसरी बिना लाइसेन्स कसैलाई नर्स बनाउन सकिन्छ? किन मेडिकल डाइरेक्टरजस्ता व्यक्तिले पत्रकारलाई धम्की दिन्छन्? र, यस्तो संस्थामा विद्यार्थी र बिरामीको सुरक्षाको ग्यारेन्टी के हो?

Nepalaaja.com ले घटनाक्रमको गम्भीर निगरानी गरिरहेको छ। सत्य र साक्ष्यसहित थप विवरण शीघ्र सार्वजनिक गरिनेछ।

नेपाल मेडिकल कलेज