मध्यदिनमा ट्राफिक प्रहरीले खलासीसँग पैसा मागेपछि...
ठगियो यात्रु, टर्यो सिस्टम: 'नेपाल यातायात'को बसभित्रको एक गुमनाम सवारी अनुभव
— गुमनाम यात्रु
बसको नाम: नेपाल यातायात
आज (बिहिबार, २२ जेठ २०८२) म टिचिङ अस्पतालबाट नयाँ बानेश्वर जान लागेको थिएँ। बस अलि खचाखच थियो। बस नक्साल पुग्दा सानो दुर्घटना भयो। बसले त्यहाँ एउटा कारलाई ठक्कर दियो। दुर्घटनापछि बस रोकियो।
मेरो गन्तव्य नयाँ बानेश्वर थियो, जहाँ साथी पर्खिरहेको थियो। म अरू यात्रुहरू जस्तै करिब १० मिनेट बसमै पर्खिएँ। कोही यात्रुहरू ओर्लिए।
समय करिब १२ बजेको थियो।
बानेश्वरसम्मको भाडा करिब २५ रुपैयाँ पर्ने थियो। हामी बसमै थियौँ—उही आशा लिएर कि कुरा मिल्ला र बस गन्तव्यतिर अघि बढ्ला। केही यात्रु बसबाट ओर्ले। ओर्लने यात्रुसँग खलासीले भाडा माग्दै थियो। म पनि हेर्दै थिएँ, बस जान्छ कि जाँदैन भनेर। कसैले तिरे, कसैले तिरेनन्। तिरिएकाहरूले यात्रा गरेका थिए, तिर्नु स्वाभाविक थियो। नतिरेकाहरूको दोष पनि थिएन, किनभने उनीहरूलाई अब अर्को बस चढ्नै पर्थ्यो र फेरि त्यही पैसा तिर्नुपर्ने थियो। म पनि ओर्लिए र खलासी सँग पनि सोधेँ—बस जान्छ कि जाँदैन? खलासीले भन्यो—“एकछिन बस्नु न।” म फेरि बसभित्र गएर बसें।
केही बेरपछि खलासी आयो र भन्यो—“बस जान्न अब।” अनि सबै यात्रुसँग जबर्जस्ती भाडा उठाउन थाल्यो। मैले पनि तिरेँ। पैसा तिरेर सबैजना ओर्लिए, र म पनि।
त्यसको करिब ३० सेकेन्डमै, अर्थात् अलिकति समय बितेपछि, गाडी फेरि गुड्न थाल्यो। खलासीले सबैलाई बोलायो। हामि फेरी बसमा चड्यौ। दुर्घटना सामान्य नै थियो। के भयो भनेर ठ्याक्कै थाहा भएन। शायद सामान्य क्षति मात्रै भएको थियो। बस गुड्न थालेपछि खलासीले भने—“प्रहरीले पैसा खान खोजेको थियो। पैसाको बार्गेनिङ गर्नलाई यत्रो बेर रोकियो। हाम्रो गल्ती थिएन। दसामात्रै लागेको थियो। यत्रो समय खेर गयो। मु… (अपशब्द)!” त्यसपछि म फेरि यात्रामा लागें। बानेश्वर पुग्नुपर्ने थियो, तर साथी त गइसकेको थियो। ढिलो भइसकेको थियो। पुतलीसडकको रेड लाइटमा बस रोकिएको थियो। खलासी यात्रु चढाउँदै, झार्दै थियो। म पनि त्यहीँ झर्ने सोचमा थिएँ, तर रेड लाइटमा झर्न मन लागेन। त्यसपछि न्युप्लाजामा झर्ने निधो गरें। त्यहीँ झरें। झर्दै गर्दा खलासी फेरि आयो—“पैसा दिनुस्।” मैले भनें—“अघिनै दिएको हैन?” उसले भने—“एक पटक झरेपछि अघिको भाडा सकियो। फेरि चढेपछि फेरि लाग्छ।” त्यसपछि मैले फेरि भाडा तिरेँ। मैले त्यस बसको नम्बर टिप्न खोजेको थिएँ, तर अगाडि अर्को बसले छेकिदियो। नम्बर टिप्न सकिनँ। दुर्घटनाको रिपोर्ट त प्रहरीको रेकर्डमा होला, तर यात्रुहरूको दुःख कोही लेख्दैन। यो २०–३० रुपैयाँको कुरा होइन। यो काठमाडौंको घाम लागेका मध्यदिनमा, सार्वजनिक रूपमा भएको एक यात्रुको ठगीको सत्य कथा हो।
विश्लेषण: सानो दुर्घटना, ठुलो विसङ्गति
नेपाल यातायात जस्तो पुरानो र नाम चलेको सार्वजनिक सेवा प्रदायकबाट यति अमानवीय, अपारदर्शी र अशिष्ट व्यवहार भएको घटनाले तीनवटा प्रश्न खडा गर्छ:
खलासीले उठाएको जबर्जस्ती भाडा वैधानिक थियो कि केवल मौकामा ठगी? यात्रुहरूले सेवा नपाउँदै भाडा तिरे, त्यो पनि ‘बस नजाने’ भनिएको केही सेकेन्डमै फेरि गाडी गुडेपछि। यसलाई व्यवस्थापन नभएको सार्वजनिक प्रणाली, वा नियोजित ठगी भन्न सकिन्छ।
प्रहरीमाथि खलासीले लगाएको आरोप कति विश्वसनीय हो? खलासीले प्रहरीमाथि “पैसा खान खोजेको” दाबी गर्यो। तर त्यो यात्रुहरूले देखेनन्, सुनेनन्—श्रोत खलासीको मुखमात्र। यसले प्रहरीको छविमा हानि त गर्छ नै, साथसाथै यात्रुलाई ‘ठगिएको अनुभूति’लाई न्यायिक स्पष्टीकरण पनि दिन सक्दैन।
यात्रुलाई दोहोर्याएर भाडा असुल्ने अभ्यास सामान्य भयो? न्युप्लाजामा झर्दा, खलासीले फेरि भाडा माग्यो—‘एक पटक झरेपछि, अघिको भाडा सकिन्छ’ भन्दै। यो स्पष्ट रूपमा यात्रुको अधिकार र सार्वजनिक सेवा सिद्धान्तको उपहास हो।
अब यात्राको अर्थ ‘सहेर पुग्नु’ मात्र होइन, ‘सच्याएर पाउनु’ हुनुपर्छ
दैनिक हजारौं यात्रु सार्वजनिक यातायातमा निर्भर छन्। उनीहरूको शोषण, अपमान, र मौनतामाथि चलिरहेको यस्ता मनपरी प्रवृत्तिको अन्त्य बिना, न ट्राफिक प्रहरीप्रति विश्वास रहन्छ, न गाडी स्टाफको व्यवहारप्रति सम्मान। आवश्यकता केवल कानुनी कारबाही होइन—जनताको पीडा बुझ्ने, सार्वजनिक सेवा प्रणालीमा उत्तरदायित्व ल्याउने ठोस सुधार हो।
किनभने आज त्यो गाडीमा म थिएँ, भोलि तपाईं हुनुहुन्छ।
काठमाडौंको ट्राफिक व्यवस्थापन यस्तो छ, जहाँ सिग्नललेभन्दा पनि सहचालकको करले गाडी रोकिन्छ। यातायात कर्मचारीको मनपरी र यात्रुको सहनशीलताबीच, ट्राफिक प्रहरी भने चोकमा उभिएर हर्न गन्दैमा आफ्नो कर्तव्य पूरा भएको ठान्छन्। राजधानीमा बस चढ्दा दुईचोटि भाडा तिर्नुपर्ने र प्रहरीमाथि पैसा मागेको आरोप सहचालकको मुखैबाट खुला रूपमा आउने अवस्था हुँदा पनि सार्वजनिक विश्वसनीयता गम्भीर रूपमा कमजोर देखिएको छ।
अब सोच्नुस्—यदि काठमाडौंको चोकमै यस्तो दृश्य दोहोरिन्छ भने, मुगु, बाजुरा, रुकुमतिर गाडी चढ्दा यात्रुले के–कस्तो सास्ती भोग्दछन् होला? ट्राफिक प्रहरी त्यहाँ कति छ? बस कहिले आउँछ? भाडा कति असुलिन्छ? गन्तव्य पुगिन्छ कि कहिल्यै नपुगिने हो? यी सबै प्रश्नको जवाफ राजधानीले आफैं दिइसकेको छ—जहाँ “सार्वजनिक सेवा” भनिएको कुरा, केही व्यक्तिको व्यक्तिगत स्वार्थमा सीमित हुन्छ।
यातायात व्यवस्थापनको समस्या भौतिक पूर्वाधारको अभाव मात्र होइन, जनप्रतिनिधि र नियमनकारी निकायहरूको चरम लापरवाही र यात्रुलाई बेवास्ता गर्ने संस्कृतिको उपज हो।
सम्पादकीय सूचना: यदि यो घटनासम्बन्धी अनुसन्धान गर्न ट्राफिक प्रहरी वा सम्बन्धित अधिकारी इच्छुक छन् भने, लेखकले यसबारे प्रमाण र विवरण उपलब्ध गराएर सहयोग गर्न पूर्ण तयारी जनाएको छ।आशा गरौं—कुनै दिन गाडी चढ्दा अपमान होइन, सम्मानको महसुस हुनेछ। अहिले त झोलेहरू सिंहदरबारमा बसेर तमासा हेर्नमै व्यस्त छन्।