शान्तिपूर्णबाट हिंसात्मक बनेको जेनजी आन्दोलन, जनधनको अकल्पनीय क्षति
काठमाडौंसहित देशका मुख्य सहरहरूमा ‘जेनजी’ पुस्ताले सुरु गरेको आन्दोलन दुई दिनमै हिंसात्मक रूप लिँदा मुलुक अकल्पनीय संकटमा तानिएको छ। सोमबार बिहान माइतीघरदेखि सुरु भएको शान्तिपूर्ण प्रदर्शन चाँडै उग्र बन्दै गएपछि हालसम्म कम्तीमा २३ जनाको ज्यान गएको छ भने सयौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।
प्रदर्शन हिंसात्मक मोडमा गएपछि राजधानीका अत्यन्त संवेदनशील सरकारी संरचनाहरू निसाना बने। राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटर, सर्वोच्च अदालत, जिल्ला अदालत र सिंहदरबारलगायतका प्रमुख प्रशासनिक केन्द्रमा प्रदर्शनकारीले आगजनी गरेका छन्। प्रत्यक्षदर्शीका भनाइअनुसार सिंहदरबारभित्रैबाट धुवाँ र ज्वाला दन्किरहेको थियो, जसले त्यहाँ रहेका पुराना अभिलेख, कागजात र संरचनात्मक सम्पदामाथि ठुलो क्षति पुर्याउने छ। यो दरबार इसं १९०३ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासका लागि निर्माण गरेका थिए। एक हजार सात सय कोठाको विशाल भवन २००७ सालदेखि नेपाल सरकारको मुख्य प्रशासनिक केन्द्र बनेको हो। २०३० सालमा ठूलो आगलागीले पछाडिको भाग नष्ट भएको थियो भने २०७२ को भूकम्पले ध्वस्त पारेको भाग पुनर्निर्माणपछि फेरि यसै आन्दोलनको क्रममा जलेको छ।
राजधानीका अधिकांश सरकारी कार्यालय, सुरक्षा निकायका भवन, प्रहरी पोस्ट, उच्च अधिकारी र दलका नेताहरूको निवास, साथै व्यापारीक प्रतिष्ठानहरूमा समेत तोडफोड, आगजनी र लुटपाट भएको विवरण प्राप्त भएको छ। मंगलबारको प्रदर्शनमा प्रहरीमाथि ठुलो प्रहार भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार महाराजगञ्जमा चार, कोटेश्वरमा तीन प्रहरीको मृत्यु भएको छ भने नयाँ बानेश्वर र कालीमाटी क्षेत्रमा समेत ठूलो क्षति भएको छ। तर प्रहरी प्रधान कार्यालयले सम्पर्क विच्छेदका कारण अझै आधिकारिक विवरण सङ्कलन गर्न नसकेको जनाएको छ।
मिडिया भवनहरू समेत आक्रमणको निसानामा परे। नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन, अन्नपूर्ण मिडिया नेटवर्कलगायतका संरचनामा आगजनी गरिएको छ। त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, नेकपा एमाले, नेकपा माओवादीसहितका दलका कार्यालयमा समेत तोडफोड भएको छ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा समेत प्रदर्शनकारी प्रवेश गरेर देउवा र परराष्ट्रमन्त्रीआरजु राणा देउवामाथि आक्रमण गरेका छन्। दुबै जना गम्भीर घाइते भएको बताइएको छ। कांग्रेस महामन्त्री गगन थापाको घरमा समेत आगजनी भएको छ।
शान्तिपूर्ण माग राख्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलन हिंसामा रूपान्तरण हुँदा सरकारको सुरक्षा संयन्त्र पूर्ण रूपमा असफल देखिएको छ। ऐतिहासिक सम्पदाको नोक्सानी, संवैधानिक निकाय र दलका मुख्यालयहरूमा भएको आक्रमण र मानव क्षतिको त्रासदीले मुलुकलाई दीर्घकालीन संकटतर्फ धकेलेको संकेत गर्छ। अब आन्दोलनको मूल उद्देश्य र मुलुकको राजनीतिक भविष्य दुबै ठूलो प्रश्नचिन्हमा उभिएको छ।