इन्द्रजात्रामा भक्तपुरको अद्भुत दृश्य: राक्षस भेष, आकाश दीप!
भक्तपुरमा इन्द्रजात्रा अन्तर्गत मनाइने परम्परागत मुपात्र र याँमता जात्रा यस वर्ष मङ्गलबारदेखि सुरु हुँदै छ। धार्मिक ग्रन्थहरूमा आधारित यो जात्रा तीन दिनसम्म निरन्तर चल्ने परम्परा रहिआएको छ। जात्रामा मुपात्र प्रमुख र दुई जना सहायकसहित तीन पात्रलाई राक्षसको भेषमा सजाएर तरबारसहित नगर परिक्रमा गराइन्छ। नगरका विभिन्न टोलमा ठड्याइएको यमःद्योलाई मुपात्रले तीन पटक प्रदक्षिणा गरी तरबारले प्रहार गर्ने संस्कारलाई नकारात्मक शक्तिमाथि विजयको प्रतीक मानिन्छ।
जात्रा सुरु हुनुअघि सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि त्रिशूल आकारको याँमता (आकाश दीप) प्रज्वलन गर्ने चलन छ। यससँगै तचपालको सँला गणेशलाई खटमा राखी नगर परिक्रमा गराइन्छ, जसलाई स्थानीयहरूले शुभसंकेतको रुपमा लिन्छन्।
दोस्रो दिन साँझ गोमारीका मानन्धरहरूले चोछेँ टोलको छुमा गणेशसँगै याँमता बालेर जात्रा अघि बढाउँछन्। यस क्रममा दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गराइन्छ, र त्यहाँबाट विभिन्न बाजागाजासहित मुपात्र, छुमा गणेश र याँमता नगर परिक्रमा गरिन्छ। राति भने सँला गणेश र छुमा गणेशलाई आफ्नो देवगृहमा फर्काइन्छ।
अन्तिम दिन टौमारीको आकाश भैरवलाई गुठी संस्थानमार्फत बलिपूजा गरिन्छ। त्यसपछि तपालछीँ र तेखाचोका मानन्धरहरूले सुकुन्डाबाट बलेको दियो लिएर बुलुचास्थित ढुङ्गेधारामा याँमता बाल्छन्। त्यसपछि आकाश भैरवको अर्को स्वरूप मसान भैरवको खट नगर परिक्रमा गराइन्छ।
यही दिन लाकुलाछेँ टोलका समुदायले पुलुकिसी जात्रा पनि सुरु गर्छन्। बाँसको मान्द्रोमाथि नीलो कपडा ओढाएर हात्तीको रूप दिएको पुलुकिसीलाई चार जनाले बोकेर नगर परिक्रमा गरिन्छ। पुलुकिसीभित्र बसेको व्यक्ति घण्टा बजाउँदै अघि बढ्ने परम्परा छ। जात्राको विशेषता भनेको पुलुकिसी र मुपात्रको भेटमा हुने ‘प्रतीकात्मक द्वन्द्व’ हो, जसलाई स्थानीयले शक्ति र सहनशीलताको परम्परागत कथा झल्काउने संस्कारका रूपमा लिन्छन्।
तीन दिनसम्म विविध संस्कार, बाजागाजा र परिक्रमा संगालेर सम्पन्न हुने यो जात्रा भक्तपुरको सांस्कृतिक सम्पदा मात्र होइन, नगरको सामूहिक आस्था र सहजीवनको प्रतीक मानिन्छ। परम्परागत संरचना जोगाउँदै आउने पुस्ताले यसलाई निरन्तरता दिन सक्नु नै भक्तपुरको ऐतिहासिक जीवनशैलीको बलियो आधार बनेको देखिन्छ।