समाचार

त्रिभुवन विमानस्थल पुनः सुचारु, आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित!

त्रिभुवन विमानस्थल पुनः सुचारु, आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  बुधबार साँझदेखि पुनः सुचारु भएपछि अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विगतका दिनझैँ उडान सामान्य ढंगले भइरहेको बताउँदै यात्रु आवागमनलाई सहज बनाउन सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार हालको क्षमताभन्दा थप उडान थप्न सकिने अवस्था छैन, त्यसैले विगतकै तालिकाअनुसार सेवा प्रदान भइरहेको छ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा विमानस्थल भित्रबाहिर सहजीकरण गरिएको छ। विदेशी पर्यटकका लागि नेपाल पर्यटन बोर्डले सटल बसको व्यवस्था गरेको छ भने विभिन्न वायुसेवा कम्पनीहरूले आफ्ना यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन आन्तरिक व्यवस्था मिलाइरहेका छन्।

निजी क्षेत्रको प्रमुख हवाई सेवा प्रदायक बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बुधबार बिहानदेखि नियमित उडान भइरहेको बताउनुभयो। उहाँका अनुसार विगत दुई–तीन दिनदेखि रोकिएका यात्रुलाई क्रमशः गन्तव्यतर्फ पठाइँदै छ।

‘जेनजी’ आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिपछि भदौ २४ गतेदेखि विमानस्थल बन्द गरिएको थियो। सुरक्षा समितिको बुधबार दिउँसो ३ः३० बजेको बैठकले सञ्चालन पुनः सुरु गर्ने निर्णय गरेसँगै साँझदेखि उडान प्रारम्भ भएका हुन्।

विमानस्थल प्रशासनले यात्रुलाई आ–आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी समय तालिका बुझेर मात्र विमानस्थल आउन आग्रह गरेको छ। साथै आवागमनका बेला आधिकारिक टिकट र परिचय खुल्ने कागजात अनिवार्य साथमा राख्न आग्रह गरिएको छ।

हाल विमानस्थलमार्फत दैनिक तीन सयभन्दा बढी उडान भइरहेको छ। आन्तरिकतर्फ दुई सय ५० भन्दा बढी र अन्तर्राष्ट्रिय तर्फ करिब १०० उडान दैनिक हुने गरेका छन्। बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुने विमानस्थलमा आन्तरिकतर्फ १२ हेलिकोप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनी सक्रिय छन् भने अन्तर्राष्ट्रिय खण्डमा तीन नेपालीसहित ३० हवाई कम्पनीले सेवा दिइरहेका छन्।

राजधानीमा आन्दोलनका कारण अन्य क्षेत्र अझै अव्यवस्थित भइरहे पनि विमानस्थल सुचारु हुनुले यात्रु आवागमनमा आंशिक सहजता आएको छ। तर सामान्यतर्फ फर्कन अझै समय लाग्ने देखिन्छ।