समाचार

सर्वोच्च अदालत जलेपछि न्याय ठप्प:लगभग ६० हजार मुद्दाको भविष्य अनिश्चित!

सर्वोच्च अदालत जलेपछि न्याय ठप्प:लगभग ६० हजार मुद्दाको भविष्य अनिश्चित!

सर्वोच्च अदालत, उच्च अदालतदेखि विभिन्न जिल्ला अदालतसम्मका मुद्दाहरूको सुनुवाइ जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि अनिश्चितकालका लागि स्थगित गरिएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलद्वारा बुधबार जारी सूचनामा मिसिल, इजलास र सर्भरमा भएको व्यापक क्षतिका कारण तोकिएका सबै मुद्दाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएका जनाइएको छ। आगजनीका कारण अदालतको सूचना प्रणाली र पेसी व्यवस्थापनसमेत नष्ट भएको छ, जसका कारण हस्तलिखित सूचना जारी गर्नुपर्ने अवस्था आएको पौडेलले बताएका छन्।

मङ्गलबार दिउँसो सुरु भएको आगजनी बुधबार दिउँसो मात्र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। सर्वोच्च प्रशासनका अनुसार नयाँ र अभिलेखमा रहेका करिब ६० हजार मुद्दामध्ये कति मिसिल जलेका छन् भन्नेबारे भने अझै यकिन भइसकेको छैन। तत्कालीन प्रधान न्यायालयदेखि संकलन गरिएका ऐतिहासिक अभिलेख राखिएको एनेक्स भवनमा पनि क्षति पुगेको छ, जसमा धेरै मिसिल पूर्णरूपमा जलेका छन् भने केही अंशत: जलेको अवस्थामा फेला परेका छन्। आगलागी नियन्त्रणपछि कर्मचारी र कानुन व्यवसायीहरूले केही मिसिल सुरक्षित गरेका छन्, तर धेरै पुराना दस्तावेज गुमेको अनुमान गरिएको छ।

सर्वोच्चसँगै उच्च अदालत पाटनले पनि अर्को सूचना नभएसम्म मुद्दाहरूको सुनुवाइ स्थगित गरेको छ। काठमाडौँ जिल्ला अदालतमा समेत अधिकांश मिसिल जलेका छन्, जसमा जिल्ला सरकारी वकिल कार्यालय र विशेष सरकारी वकिल कार्यालयमा रहेका महत्वपूर्ण मुद्दाका फाइलहरू पनि नष्ट भएका छन्। सरकारवादी मुद्दासम्बन्धी धेरै मिसिल र निर्णय नष्ट भएपछि कानुनी प्रक्रियामा ठूला अवरोध सिर्जना भएको छ।

उपत्यकाबाहिर पनि जेनजी प्रदर्शनकारीले क्षति पु¥याएका कास्की जिल्ला अदालत, उच्च अदालत जनकपुर, राजविराज इजलासलगायतका क्षेत्रमा मुद्दाहरूको सुनुवाइ प्रभावित भएको छ। निषेधाज्ञा जारी रहेका सबै क्षेत्रका अदालतहरूमा नियमित कामकाज ठप्प छ।

अदालत प्रशासनले तत्काल सुरक्षित गरिएका मिसिल र सामग्री भवनबाहिर राख्नुपर्ने भएकाले त्रिपाललगायत आवश्यक सामग्री उपलब्ध गराउन अपिल गरेको छ। आगलागीका कारण न्यायिक प्रक्रियामा आएको यो ठप्प अवस्था कहिलेसम्म रहने हो भन्ने अनिश्चितताबीच कानुनी प्रणालीलाई पुनः सुचारु गर्ने चुनौती थप जटिल बनेको छ।