स्याङ्जा अशान्तिबाट सामान्यतर्फ: पार्टी अफिस फुटे, पालिका अनिश्चितकाल बन्द!
नव–युवापुस्ताले सुरु गरेको ‘जेनजी’ आन्दोलन हिंसात्मक रूप लिन थालेपछि तनावग्रस्त बनेको स्याङ्जा बुधबारदेखि सामान्यतर्फ फर्किएको देखिएको छ । बिहानैदेखि पसलहरू पूर्ण रूपमा खुलेका छन् भने निजी सवारी साधनहरू नियमित सञ्चालनमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यान्हदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ६ बजे हटाएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार परिस्थितिलाई नजिकैबाट अनुगमन गरेर मात्रै फेरि कर्फ्यू लगाउने वा नलगाउनेबारे निर्णय गरिनेछ । उहाँले भन्नुभयो, “अवस्था सामान्य हुँदै गएको छ, आज दिनभर उच्च सतर्कता अपनाइन्छ, आवश्यकता अनुसार मात्र थप निर्णय लिइनेछ।” अर्यालका अनुसार नेपाली सेनाले जिल्लाभित्र हुने शङ्कास्पद गतिविधिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
यद्यपि, देशभर जारी निषेधाज्ञाका कारण सभा, जुलुस वा ठूला भेलामा भने प्रतिबन्ध कायम छ ।
मंगलबार आन्दोलनकारी युवाहरूले सदरमुकामस्थित नेपाली कांग्रेस र नेकपा (एमाले) का पार्टी कार्यालयमा तोडफोड गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने सम्भावित क्षतिलाई ध्यानमा राख्दै आफ्ना व्यानर र बोर्ड आफैं हटाएको थियो । प्रहरीले दिएको विवरणअनुसार, पुतलीबजार नगरपालिकाको कार्यालयमा ढुङ्गामुढा हुँदा सिसा फुटेका छन् । यस्तै, कालीगण्डकी गाउँपालिकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको शिलालेख तोडिएको छ, तर कार्यालय भवनमा अन्य क्षति नभएको स्थानीय निकायले जनाएको छ ।
युवाहरूले संयमता अपनाएकै कारण ठूलो क्षति हुन नपाएको दाबी गरेका छन् । उनीहरूले मंगलबारदेखि बुधबारसम्म विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
यसबीच, जिल्लाभित्र रहेका ११ वटै पालिकामध्ये धेरैले तोडफोडको जोखिम र कर्मचारी असुरक्षाका कारण कार्यालय बन्द गरेका छन् । केही पालिकाले त आधिकारिक सूचना जारी गर्दै अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले भने नागरिकलाई सेवाबाट वञ्चित गर्न नहुने भन्दै स्थानीय तहलाई आवश्यक सहजीकरण भइरहेको बताए । उहाँका शब्दमा, “स्थायी सरकारका रूपमा पालिकाको सेवा निरन्तर रहन्छ, प्रशासन त्यसका लागि सहजीकरण गरिरहेको छ।”
प्रशासनका अनुसार स्वास्थ्य, खानेपानीजस्ता अत्यावश्यक सेवामा भने कुनै अवरोध देखिएको छैन । सम्भावित समस्याका लागि तत्काल सम्पर्क गर्न नागरिकलाई आग्रह गरिएको छ ।
स्याङ्जाको परिस्थितिले देखाएको छ-शान्तिपूर्ण देखिएका आन्दोलनहरू क्षणभरमै अराजक मोड लिन सक्छन्, तर संयमित व्यवस्थापन र स्थानीय तहको सेवा निरन्तरताले संकटको प्रभावलाई न्यून पार्न सक्ने सम्भावना अझै बाँकी छ ।