समाचार

तनहुँ जिल्ला अदालतमा आगजनीपछि मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

तनहुँ जिल्ला अदालतमा आगजनीपछि मुद्दा सुनुवाइ अनिश्चितकालका लागि स्थगित

तनहुँमा चर्किएको जेनजी आन्दोलनले न्यायालयसम्म ठप्प बनाएको छ । मंगलबार साँझ आन्दोलनकारीले जिल्ला अदालत तनहुँमा आगजनी गरेपछि बुधबारदेखि अनिश्चितकालीन रूपमा मुद्दा सुनुवाइ बन्द गरिएको छ । अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यका अनुसार आगलागीले भवन संरचनागत रूपमा असुरक्षित बनेको छ भने मुद्दा हेर्नका लागि आवश्यक कागजात, फाइल र अभिलेख जलेर नष्ट भएका छन् । उनले भने, “भवन सुरक्षित छैन, आवश्यक आधारभूत कागजात नै छैनन् । यस्तो अवस्थामा सुनुवाइ सम्भव छैन । वातावरण सामान्य नभएसम्म अदालत बन्द रहनेछ ।”

जिल्ला अदालतले दैनिक सयौं मुद्दा हेर्ने भएकाले सुनुवाइ बन्द हुँदा थुनुवा मुद्दा, जग्गा–जमिन विवाद, पारिवारिक मुद्दा लगायतका कानुनी प्रक्रिया अवरुद्ध भएका छन् । यसले सामान्य नागरिकदेखि थुनुवासम्म प्रत्यक्ष असर परेको देखिन्छ ।

कानुन व्यवसायीहरूले न्यायालयमाथिको आक्रमणलाई गम्भीर रूपमा लिएका छन् । वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अदालत बन्द हुनु नागरिकको आधारभूत हक खोसिएको भन्दै तत्काल वैकल्पिक व्यवस्था खोज्न राज्यलाई आग्रह गरे । “न्यायपालिकामाथि भएको सिधा आक्रमण लोकतान्त्रिक मूल्यविपरीत छ,” उनले टिप्पणी गरे ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले अदालतमा भएको क्षतिको विवरण संकलन भइरहेको र तथ्याङ्क उच्च निकायलाई प्रतिवेदन पठाउने तयारीमा रहेको जानकारी दिए ।

यसअघि नै आन्दोलनकारीले जिल्ला समन्वय समिति, जिल्ला कारागार, मालपोत, नापी, आन्तरिक राजस्व, खानेपानी, पूर्वाधार विकास तथा सरकारी वकिल कार्यालयलगायतका निकायमा आगजनी गरेका थिए । त्यसै क्रममा अदालत समेत क्षतिग्रस्त भएपछि जिल्लामा न्यायिक प्रक्रिया पूर्ण रूपमा अवरुद्ध भएको छ ।