जेनजी आन्दोलनपछि विमानस्थलमा यात्रुहरूको चाप, विदेश र दशैं यात्राले भीड बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत केही दिनयता बन्द रहेका उडानहरू पुनः सञ्चालन भएपछि बाहिर जाने यात्रु र युवा वर्गको भीड देखिएको छ। जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा अवरोध आएपछि विमानस्थल सुनसानजस्तो बनेको थियो। आन्दोलन शान्त बन्दै गएपछि मंगलबारदेखि वातावरण सहज भएको र बुधबारदेखि नियमित उडान सुरु भएको विमानस्थल स्रोतहरूले जानकारी दिएका छन्।
उडान पुनः खुलेसँगै लामो समयदेखि प्रतीक्षारत यात्रुहरू हतारिएको देखिन्छन्। दशैं नजिकिँदै गर्दा राजधानी बाहिर जाने चाप थपिएको छ भने, रोजगारी वा अध्ययनका लागि विदेश जाने तयारीमा रहेका युवाहरू विमानस्थलमा बाक्लो संख्यामा भेटिएका छन्। उनीहरू मध्ये कतिपयले मुलुकको राजनीतिक आन्दोलनबाट शासन प्रणालीमा परिवर्तन भई स्वदेशमै रोजगारीको वातावरण बन्ने आशा पालेका थिए। तर, वर्तमान परिस्थितिले त्यस्तो अवस्था तुरुन्त सम्भव नदेखिएको उनीहरूको भनाइ छ।
काम विशेषले राजधानीमै अड्किएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुहरू पनि गन्तव्यतर्फ फर्कन हतारिँदा विमानस्थलको भीड झन् बाक्लो भएको छ। आन्दोलनले केही दिन ठप्प बनाएको यातायात र विमान उडान फेरि सामान्यतर्फ फर्कन थालेको यो दृश्यले आगामी दिनमा जनजीवन क्रमशः सामान्य हुँदै जाने संकेत गरेको छ।