सुन्धारामा युवाको भिडन्त : नेता कोही छैन, तर सबै प्रधानमन्त्री बन्न चाहन्छन् !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मुलुक सरकारविहीन अवस्थामा धकेलिएको छ, र यही राजनीतिक शून्यतामा सुन्धाराको सडक नयाँ रणभूमि बनेको छ । बुधबारदेखि नै सैनिक मुख्यालय जंगीअड्डा अगाडि अन्तरिम सरकार गठनको नाममा ‘सिफारिसको होड’ चलेपछि बिहीबार सुन्धारा क्षेत्रमा युवाहरूबीच झडप भयो ।
नेपाली सेनाले बुधबार माइकिङ गर्दै विभिन्न समूहलाई आफ्ना ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन आग्रह गरेको थियो । सेनाको यस आह्वानलाई आधार बनाएर फरक फरक समूह आफ्ना उम्मेदवारलाई अघि सारे—तर सहमति बन्नुको साटो, भिडन्त चर्किँदै गयो ।
अन्तरिम प्रधानमन्त्रीका लागि प्रस्तावित नामहरू—पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र शाह, नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र धरानका मेयर हर्क साम्पाङ—बीचका सिफारिसकर्ताहरू आपसमा ठोक्किँदा स्थिति झन् तनावपूर्ण भयो । एकअर्काको नाम अस्वीकार गर्दै युवाहरू बीच चर्काचर्की मात्र नभई शारीरिक धक्का–मुक्कासमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
जंगीअड्डा परिसर अगाडि भिड जम्मा हुन नदिएपछि सेनाको निगरानीमा समूहहरू सुन्धारातर्फ सरेका थिए । तर, सेनाले नियन्त्रण गर्न खोजे पनि सुन्धारा क्षेत्रमा युवाहरूको भीड अन्ततः हानाहानमै परिणत भयो ।
अब ठूलो प्रश्न के हो भने—अन्तरिम सरकार गठनका लागि कसलाई ‘मुख्य अनुहार’ बनाइन्छ ? एउटा पुस्ताले नेतृत्व नै नचाहिने भन्दै आन्दोलन चलाएको थियो, तर अहिले त्यही आन्दोलनका नाममा फरक फरक समूह आफ्ना–आफ्ना उम्मेदवारलाई प्रधानमन्त्री बनाउन जोरजुलुम गर्दैछन् ।
सुन्धारामा भएको भिडन्तले Gen Z आन्दोलनको ‘नेता नहुने’ मौलिकताको दाबीलाई खतरामा पारेको देखिन्छ । आन्दोलनले प्रधानमन्त्रीलाई ढाल्ने शक्ति देखाइसकेको छ, तर नयाँ नेतृत्व चयनको प्रक्रियामा युवाहरू नै आपसमा टुक्रिँदा मुलुक फेरि अस्थिरताको दलदलमा फस्ने चिन्ता बढेको छ ।
देशले अब कुन अनुहारलाई अघि सार्छ—कार्की, बालेन, कुलमान, हर्क वा अरू कसैलाई—यो प्रश्न अझै झुन्डिएको छ, तर सुन्धाराको झडपले देखाएको अवस्था भने एकै छ; सत्ता खाली हुँदा लडाइँ सडकमा पुग्छ, र नेता नभएको क्रान्ति अन्ततः ‘नेतृत्वको झगडा’ मा रूपान्तरण हुन्छ ।
Gen-Z