भारतले समातेर नेपाल बुझायो जलेश्वर कारागारका १२ कैदी!
जलेश्वर कारागारबाट कैदीबन्दी सामूहिक रूपमा फरार भएको घटनापछि भारततर्फ पुगेका १२ जनालाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । भदौ २४ गते साँझ भएको दंगापछि ५७६ मध्ये ५७५ कैदी फरार भएका थिए । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार पक्राउ परेकामध्ये ९ जनालाई बिहीबार दिउँसो भिटामोड नाकामा र ३ जनालाई वथनाहा चौकीमा नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
भट्टका अनुसार पक्राउ परेका मध्ये धनुषा, महोत्तरी र मकवानपुरका साथै भारतको बिहार राज्यका विभिन्न स्थानका कैदीहरू रहेका छन् । उनीहरूमा रामगुलाम महतो, बिनोद राय, मुजाहिद अन्सारी, इन्द्रेस मण्डल, सुरेन्द्र साह सोनार, आनन्द मोहन कुमार, कृष्णकुमार महतो, बलबिन कुमार महतो, जियाउल रहमान, गुड्डु कुमार यादव, रेयाज दफाली र राजेश तामाङ रहेका छन् ।
कारागार प्रशासनका निमित्त प्रमुख रविनचन्द्र ठाकुरका अनुसार अहिलेसम्म ३७ जना कैदी पुनः कारागार फर्किएका छन् । तीमध्ये २५ जना स्वेच्छाले फर्किएका हुन् भने बाँकी १२ जनालाई भारतबाट पक्राउ गरी बुझाइएको हो । ठाकुरले कैदीहरूलाई २४ घण्टाभित्र स्वेच्छाले फर्किन बुधबार सार्वजनिक अपिल गरेका थिए । अपिलपछि कैदी र उनीहरूका परिवारजन सम्पर्कमा आउन थालेको प्रशासनले जनाएको छ ।
जलेश्वर कारागारमा मङ्गलबार साँझ ७ बजे आन्दोलनकारीले आक्रमण गरेपछि कैदीहरू फरार भएका थिए । आन्दोलनकारीहरूले प्रारम्भमा मधेस आन्दोलनका घटनामा संलग्न केही कैदीलाई छुटाउन माग गरेका थिए । तर भिड उग्र बन्दै गएपछि बाहिरी गेट भत्काइयो र कैदीहरूले भित्रैबाट अर्को गेट तोड्दै भाग्ने अवस्था सिर्जना भयो ।
त्यतिबेला कारागारको सुरक्षामा खटिएका ४० जना नेपाल प्रहरी र ३५ जना सशस्त्र प्रहरीले बल प्रयोग गर्दा ठूलो दुर्घटना हुन सक्ने अनुमान गर्दै पछि हटेपछि कैदीहरू फरार भएका थिए । तीमध्ये एक जना मात्र, कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रहेका सुस्त मानसिक अवस्थाका कैदी दीपक कुमार यादव भने भागेका छैनन् र निरन्तर कारागारमै रहेका छन् ।
भारतबाट पक्राउ परेकाहरूलाई बुझाएसँगै कारागार प्रशासनलाई केही राहत पुगेको छ, तर अझै ठूलो सङ्ख्यामा कैदी फरार भएकाले आगामी दिनमा प्रहरी र सुरक्षा संयन्त्रलाई थप चुनौती रहने देखिन्छ ।