विद्यादेवी भण्डारी : संवैधानिक दायराभित्रै राजनीतिक निकास खोज्नुपर्ने!
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देश हाल संवैधानिक संक्रमणको संवेदनशील चरणमा रहेको भन्दै सबै पक्षलाई संविधानको मर्मअनुसार अघि बढ्न आह्वान गर्नुभएको छ। आज जारी गरिएको विज्ञप्तिमा उहाँले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम निर्वाचित राष्ट्रपति तथा जननिर्वाचित संस्थाहरू कायमै रहेको अवस्थामा राजनीतिक निकास संविधानले नै सुनिश्चित गर्ने उल्लेख गर्नुभयो।
भण्डारीले हालैको ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षति र सम्पत्ति नोक्सानीप्रति दुःख व्यक्त गर्दै घटनाको गहिरो समीक्षा आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार आन्दोलनरत पक्षको मागलाई समेत समेट्दै संवैधानिक व्यवस्थाअनुसार शान्तिपूर्ण समाधान निकाल्न सकिन्छ।
उहाँले राजनीतिक दल, आन्दोलनकारी तथा राज्य संयन्त्र सबैलाई आत्मसमिक्षा गर्दै संवैधानिक दायरामा मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। भण्डारीको भनाइमा, मुलुकलाई दीर्घकालीन स्थायित्व दिने आधार संविधान नै हो, त्यसैले यसलाई नै मार्गदर्शक बनाएर सहमति र निकास खोजिनुपर्नेछ।
राजनीतिक अस्थिरता र हिंसात्मक घटनापछि समाजमा उत्पन्न आक्रोशलाई सम्बोधन गर्न सबै पक्षबाट जिम्मेवार व्यवहार देखिनुपर्ने पूर्व राष्ट्रपति भण्डारीको सन्देशले स्मरण गराउँछ।