‘जेनजी’ आन्दोलनमा ३४ को मृत्यु, १,३६८ घाइते उपचाररत!

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा देशभर कम्तीमा ३४ जनाको ज्यान गुमेको र एक हजार ३६८ जनाले उपचार पाएको तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले विभिन्न अस्पतालहरूसँग सम्पर्क गरेर मृतक र घाइतेहरूको विवरण संकलन गरेको हो।
प्राप्त विवरणअनुसार निजामती कर्मचारी अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक, बयोधा अस्पतालमा दुई, फ्रन्टलाइन अस्पतालमा तीन, बी एन्ड सी अस्पताल विर्तामोडमा एक, विर्तासिटी अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई र भेरी अस्पतालमा पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
मन्त्रालयका अनुसार अहिले पनि ३२१ जना घाइते उपचाररत छन्। सचिव डा. विकास देवकोटाले दिएको जानकारीअनुसार निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५, काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। त्यस्तै, ९४९ जना उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ।
आन्दोलनका कारण उत्पन्न यो तथ्याङ्कले मुलुकको स्वास्थ्य प्रणालीमाथि परेको असाधारण दबाब स्पष्ट देखाएको छ। अबका दिनमा यसले चिकित्सा सेवा व्यवस्थापन र राज्यको संकट सामना गर्ने क्षमताबारे गम्भीर प्रश्न उठाएको छ।