समाचार अपराध सुरक्षा

डडेल्धुरा कारागारबाट भागेका ७८ कैदीबन्दी पक्राउ:अझै ७ कैदी बेपत्ता

डडेल्धुरा कारागारबाट भागेका ७८ कैदीबन्दी पक्राउ:अझै ७ कैदी बेपत्ता

डडेल्धुरा कारागारमा गत भदौ २५ गते बिहान भएको आगजनी र सामूहिक भाग्ने घटनापछि पक्राउ संख्या बढ्दै गएको छ। कारागार प्रशासक सन्तोष भट्टका अनुसार १२७ जना कैदीबन्दीमध्ये ८५ जना कारागारको गेट फोडेर भागेका थिए। नेपाल प्रहरीले आइतबार बिहान ९ बजेसम्म ७८ जना पक्राउ परिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यससँगै हाल कारागारमा १२० जना कैदीबन्दी रहेका छन् भने ७ जना अझै फरार छन्। फरारकै खोजतलास सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रूपमा गरिरहेको छ।

यसैबीच, जेनजी आन्दोलनले उग्र रूप लिएपछि २४ गतेदेखि बन्द भएका विद्यालय र कार्यालय आइतबारदेखि क्रमशः सञ्चालनमा आएका छन्। जिल्ला सदरमुकाममा शुक्रबार अपराह्नदेखि लागू भएको कर्फ्यु शनिबार बिहानैदेखि हटेपछि एक सातापछि विद्यालयहरू पुनः खुलेका हुन्। अमरगढी नगरपालिकासहित आन्तरिक राजस्व, मालपोत, जिल्ला निर्वाचन कार्यालय, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय, विभिन्न गैरसरकारी संस्था र सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको घरसम्ममा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले क्षति पुगेका कार्यालयहरूको मुचुल्का उठाइएको र जलाई नष्ट गरिएका सामग्रीहरूको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बागबजार, तुफानडाँडा र कीर्तिपुर बजार क्षेत्र वरपरमा लगाइएको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको छ।

यता, एमपिडिएस (बहुउद्देश्यीय विकास समाज) का कार्यकारी निर्देशक प्रेम महरले सामाजिक सञ्जालमार्फत आफ्ना कार्यालयहरू तोडफोड गरी चोरीसमेत भएको भन्दै सामग्रीहरू फिर्ता गर्न आग्रह गर्नुभएको छ। आफूहरूको आन्दोलन कुनै व्यक्ति वा संस्थालाई लक्षित गरी हानी पुर्‍याउने उद्देश्यबिनै भएको बताउँदै उहाँले चोरीका दृश्यहरू सार्वजनिक भएपछि प्रत्यक्ष सम्बोधनमार्फत वस्तुहरू फिर्ता गर्न आह्वान गर्नुभएको हो।

कारागारबाट भागेका अधिकांशलाई पुनः नियन्त्रणमा लिइसकिएको भए पनि बाँकी फरारको खोजी र क्षतिको पूर्ण विवरण सङ्कलन हुन बाँकी छ। डडेल्धुरामा आन्दोलनको घाउ र प्रशासनिक पुनर्संरचनाको काम कति छिट्टै अघि बढ्छ भन्ने कुराले आगामी दिनमा स्थिरताप्रति जनविश्वास कस्तो रहनेछ भन्ने निर्धारण गर्ने देखिन्छ।