झापामा आन्दोलनका क्रममा थप एकको मृत्यु, कुल मृतक संख्या दुई

झापामा जारी ‘जेनजी’ आन्दोलनका क्रममा थप एक जना घाइतेको निधन भएको छ। बिहीबार उपचारका क्रममा प्राण गुमाएपछि यस आन्दोलनमा झापामा मृतकको संख्या दुई पुगेको हो।
इलाका प्रहरी कार्यालय विर्तामोड परिसरमा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका पाँचथर घर भई विर्तामोड–१० बसोबास गर्दै आएका ३५ वर्षीय कमल भण्डारीको बिएण्डसी अस्पतालमा मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।
यसअघि अर्जुनधारा–८ का २८ वर्षीय गोपाल सेढाईंको पनि सोही अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।