काठमाडौं उपत्यकामा भदौ २७–२८ मा निषेधाज्ञा र कर्फ्यू लागू, अत्यावश्यक सेवामा मात्र छुट!

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यू आदेशलाई निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिहरूले पछिल्लो सुरक्षा मूल्यांकनपछि जनधनको सुरक्षा सुनिश्चित गर्न यो व्यवस्था आवश्यक ठहर गरेका हुन्। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने सोही दिन बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहनेछ।
आवश्यक आवतजावतका लागि भने छुट्टै समय तोकिएको छ। भदौ २७ गते बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म नागरिकलाई यातायात प्रयोग गर्न दिइनेछ। निर्देशनालयका अनुसार निषेधाज्ञा र कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, साथै खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, औषधी तथा सञ्चार सेवासम्बन्धी ढुवानी गर्ने सवारी साधनलाई सञ्चालनको अनुमति दिइनेछ।
त्यस्तै, सरकारी निकाय, राष्ट्रिय मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्थाका कर्मचारीले परिचयपत्र देखाई कार्यालय आउजाउ गर्न सक्नेछन्। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलसम्म पुग्न पाउने व्यवस्था गरिएको छ। उपत्यकाबाहिर भने परिस्थितिअनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने भनिएको छ।
विज्ञप्तिमा नागरिकलाई सुरक्षाकर्मीलाई सहयोग गर्न र तोकिएको समयमा कुनै जुलुस, धर्ना वा प्रदर्शन नगर्न आग्रह गरिएको छ। निर्देशनालयले “जस्तोसुकै परिस्थितिमा पनि नेपाली जनताको सुरक्षा र मानवीय उद्धारमा सुरक्षाकर्मी प्रतिबद्ध छन्” भन्दै नागरिकको सहकार्य अपरिहार्य हुने उल्लेख गरेको छ।
सुरक्षा संवेदनशीलताको कारण थप कडाइ गरिएको यो व्यवस्थाले सर्वसाधारणको दैनिक जीवनमा असुविधा थप भए पनि, नागरिकको सुरक्षालाई प्राथमिकता दिनु समयको माग देखिएको छ।