समाचार

राजनीतिक निकास संविधानसम्मत ढङ्गले खोज्नुपर्ने पोखरेलको धारणा!

राजनीतिक निकास संविधानसम्मत ढङ्गले खोज्नुपर्ने पोखरेलको धारणा!

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा उत्पन्न असामान्य अवस्थाको बीच लुटपाट र आक्रमण बढ्दै गएको भन्दै नागरिकको जिउधन तथा सार्वजनिक सम्पत्तिको सुरक्षामा कडाइ गर्न सुरक्षा निकायलाई आग्रह गर्नुभएको छ।

पार्टीको तर्फबाट बिहीबार विज्ञप्ति जारी गर्दै पोखरेलले यस्ता गतिविधिबाट समाजमा थप असुरक्षा बढेको उल्लेख गर्नुभयो। उहाँका अनुसार जेनजी आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि व्यवहारमा आगजनी, तोडफोड र लुटपाटका घटना देखिनु गम्भीर चिन्ताको विषय बनेको छ। उहाँले प्रश्न गर्नुभयो, “जेनजी पुस्ताले आन्दोलन शान्तिपूर्ण रहने भने पनि व्यवहारमा त्यसको जिम्मेवार को हो ?”

महासचिव पोखरेलले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानलाई चुनौती दिने प्रवृत्तिलाई रोक्न सबै दलले पारस्परिक संवादमा आउनुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “संविधानसम्मत राजनीतिक निकास नै वर्तमान सङ्क्रमणको विकल्प हो, लोकतन्त्रमा लोकतान्त्रिक विधि बाहेक अन्य बाटो छैन।”

वर्तमान सङ्कटले स्थानीय तहको सेवा प्रवाहमा समेत अवरोध पुर्‍याएको भन्दै उहाँले निर्वाध सेवा सुनिश्चित गर्न राज्य संयन्त्र सक्रिय हुनुपर्ने धारणा राख्नुभयो। साथै, राष्ट्र, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न एमाले दृढतापूर्वक लाग्ने प्रतिबद्धता पोखरेलले व्यक्त गर्नुभयो।

करिब १३ हजारभन्दा बढी कैदी जेल बाहिर रहेकाले शान्ति सुरक्षामा थप चुनौती थपिएको भन्दै उहाँले असामान्य परिस्थितिको फाइदा उठाउनेहरूप्रति सतर्क रहन आह्वान गर्नुभयो। उहाँका अनुसार आगजनी र संरचनाको तोडफोडका कारण खरबौँ मूल्य बराबरको राष्ट्रिय सम्पत्ति ध्वस्त भइसकेको छ, जसले विकासलाई निकै पछाडि धकेलेको छ।

पोखरेलले मुलुकमा देखिएका भयावह अवस्थाको निष्पक्ष न्यायिक छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले हतोत्साहित नहुन कार्यकर्तालाई आग्रह गर्दै वर्तमान संकट दीर्घकालीन नहुने र चाँडै अन्त्यतिर जाने विश्वास व्यक्त गर्नुभयो। परिस्थितिले थिचेपनि संगठित र रचनात्मक ढङ्गले अघि बढ्न सके मुलुकले निकास पाउने सन्देश उहाँको वक्तव्यमा झल्किएको छ।