समाचार राजनीति

जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्रीमा समर्थन गर्नेछौं:रास्वपा

जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रस्तावित प्रधानमन्त्रीमा समर्थन गर्नेछौं:रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी पुस्ताको अनिवार्य सहभागिता सुनिश्चित गरी सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयन गर्ने प्रक्रियामा समर्थन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको भर्चुअल केन्द्रीय समिति बैठकले उक्त निर्णय पारित गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सार्वजनिक गर्नुभयो।

रास्वपाले जारी गरेको प्रस्तावमा भनिएको छ, “सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ।” पार्टीले यस्तो उम्मेदवारले व्यापक राजनीतिक अनुमोदन प्राप्त गरोस् भन्ने शुभेच्छा समेत व्यक्त गरेको छ।

बैठकले ताजा राजनीतिक निकासका लागि संसद् स्वतः निष्क्रिय हुने अवस्थामा निर्वाचन घोषणाको बाटो मात्र उपयुक्त हुने निष्कर्ष निकालेको छ। संविधानको धारा ८३ अनुसार द्विसदनीय व्यवस्थापिकाको निरन्तरता र राष्ट्रिय सभाको स्थायित्व कायम राख्दै अन्तरिम सरकारले ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने पार्टीको धारणा छ।

रास्वपाले आफ्नो प्रस्तावमा लोकतान्त्रिक मूल्य–मान्यता, बहुलवाद, मौलिक हक र विधिको शासनमा कुनै सम्झौता नगर्ने अडान प्रस्ट्याएको छ। साथै, आन्दोलनको म्यान्डेट र ताजा मतादेशबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

त्यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको सक्रिय पहलमा आगामी संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षित गर्न अपेक्षा गरिएको छ। रास्वपाले २०८२ भदौ २३ को आन्दोलनमाथिको दमन, मानवीय क्षति, सम्पत्तिमाथि भएका आक्रमण र २०४६ पछि भएका ठूला भ्रष्टाचार प्रकरणहरूबारे छानबिन गर्न नयाँ सरकार बनेको १५ दिनभित्र स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग पनि गरेको छ।