सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठद्वारा हुम्लाको हिल्सा–लाप्चा क्षेत्रका सीमा स्तम्भ अनुगमन!

सुर्खेतस्थित सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बिनोद राज श्रेष्ठले हुम्लाको हिल्सा र लाप्चा क्षेत्रमा रहेका सिमा स्तम्भहरुको अनुगमन गर्नुभएको छ। सुर्खेतबाट हुम्ला पुगेका श्रेष्ठले तीन दिनको क्रममा उत्तरी नाम्खा गाउँपालिका–५ को हिल्सा क्षेत्रमा रहेका ६, ७, ८, ९ र १० नम्बर स्तम्भ तथा सोही गाउँपालिका–६ को लिमीस्थित लाप्चा क्षेत्रको १२ नम्बर स्तम्भ निरीक्षण गर्नुभएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म सिमकोटका नायब उपरीक्षक कविन्द्र मर्हजनले जानकारी दिनुभयो।
मर्हजनका अनुसार पाँच हजार ४५ मिटर उचाइमा रहेको लाप्चा क्षेत्रको स्तम्भ पनि स्थलगत अवलोकन गरिएको र यसको अवस्था सन्तोषजनक रहेको पाइएको हो। हिल्सा क्षेत्रमा रहेका अन्य पाँच स्तम्भ पनि स्थिर अवस्थामा रहेकोमा श्रेष्ठले सन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, सशस्त्र प्रहरीको उच्च तहबाट सीमास्तम्भको अनुगमन भएको यो पहिलो अवसर हो, र यसलाई नियमित गर्ने अभ्यासलाई निरन्तरता दिने तयारीमा संस्था रहेको छ।
अनुगमन टोलीले सीमास्तम्भ मात्र होइन, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका लागि छुट्याइएको जग्गा समेत अवलोकन गरेको थियो। निकट भविष्यमा हिल्सा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) का लागि भवन निर्माण सुरु गर्ने तयारी भएको र लिमीको ताक्चीमा समेत भवन निर्माणका लागि जग्गा पहिचान गरिसकिएको छ। यस विषयमा वडा तथा गाउँपालिकासँग छलफल अघि बढाइने मर्हजनले बताए।
उच्च हिमाली क्षेत्रमा गरिएको यस स्थलगत अभ्यासले सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता र प्रतिबद्धतालाई स्पष्ट पारेको छ। नेपाल–चीन सिमानाको संवेदनशीलताका कारण यस किसिमको निरन्तर अनुगमनले भविष्यमा हुने सम्भावित विवाद वा चुनौतीलाई समयमै सम्बोधन गर्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।