पूर्वप्रधानमन्त्री भट्टराईद्वारा अन्तरिम सरकार प्रमुखका लागि सुशीला कार्कीलाई समर्थन!

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाले प्रस्ताव गरेको अन्तरिम सरकार प्रमुखका रुपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन जनाएका छन्। शुक्रबार बिहान सार्वजनिक गरिएको विज्ञप्तिमा उनले कार्कीको नाम आउनु अत्यन्तै सकारात्मक र सान्दर्भिक भएको बताएका छन्।
डा. भट्टराईका अनुसार अब संविधानको जगमा टेकेर राष्ट्रपति नै पालक र संरक्षकको भूमिकामा अघि बढ्नुपर्छ। उनले भनेका छन्, राष्ट्रपति बाटै संविधानसम्मत प्रक्रियामा कार्कीलाई शपथ दिलाई अहिलेको अन्योल र आशंका छिटो अन्त्य गर्न सकिन्छ। तर उनले यस प्रक्रियाको विधि संविधानविद्हरु र जानकारसँग परामर्श गरेर तय गर्नुपर्ने आवश्यकता औंल्याए।
साथै, उनले २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद अध्यक्ष बनाइएको प्रसङ्गलाई अहिलेको सन्दर्भसँग तुलना गर्न नमिल्ने तर्क प्रस्तुत गरे। उनका अनुसार त्यतिबेला अन्तरिम संविधान २०६३ ले राजनीतिक सहमतिका आधारमा निर्णय गर्न सकिने स्पष्ट प्रावधान राखेको थियो। तर वर्तमान संविधान निर्वाचित संविधानसभाले तयार पारेको स्थायी संविधान भएकाले त्यस्तो छुट छैन।
“यो संविधान ठूलो बलिदानी आन्दोलनको परिणामस्वरुप बनेको पहिलो संविधान हो, त्यसैले यसको जगमा टेकेर अघि बढ्नु नै जेनजी पुस्ताको दीर्घकालीन हितमा हुनेछ,” विज्ञप्तिमा डा. भट्टराईले उल्लेख गरेका छन्।