समाचार

आन्दोलनका क्रममा भाटभटेनीका १२ शाखा र मुख्य गोदाम पूर्ण क्षतिग्रस्त, नौ शाखामा लुटपाट!

आन्दोलनका क्रममा भाटभटेनीका १२ शाखा र मुख्य गोदाम पूर्ण क्षतिग्रस्त, नौ शाखामा लुटपाट!

भाटभटेनी सुपर मार्केटले देशभरका आफ्ना शाखामध्ये ठूला संख्यामा ठूलो क्षति भएको पुष्टि गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार हालसम्म १२ वटा शाखा र एक मुख्य गोदाम पूर्ण रूपमा आगलागीबाट नष्ट भएका छन् भने नौ वटा शाखामा लुटपाट र तोडफोडको असर देखिएको छ। सात शाखामा भने कुनै क्षति पुगेको छैन।

पौडेलले टङ्गाल, महाराजगञ्ज, कोटेश्वर, बालुवाटार वेयर हाउस, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिनुभयो। यसका साथै कलङ्की, राधेराधे, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवामा भवन तोडफोड र सामान लुटपाट भएको कम्पनीको भनाइ छ।

यता टोखा, सातदोबाटो, अनामनगर, पाटन, नेपालगञ्ज, डब्लुटिसी त्रिपुरेश्वर र सानागाउँ शाखा भने सुरक्षित रहेको भाटभटेनीले स्पष्ट पारेको छ। आन्दोलनकै क्रममा सुरु भएको आगलागी र भीड नियन्त्रणमा ढिलाइले क्षति अझ बढेको देखिन्छ।

जेन जी पुस्ताले सुरु गरेको आन्दोलनको लहरमा भाटभटेनी जस्ता ठूला खुद्रा व्यवसायहरू निशाना बनेपछि निजी क्षेत्रको मात्र नभई सम्पूर्ण आपूर्ति शृङ्खलामै असर पर्न सक्ने चिन्ता व्यावसायिक समुदायले व्यक्त गरेका छन्। क्षति मूल्याङ्कन र आगामी आपूर्ति पुनःस्थापनाबारे कम्पनीले अझै थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।