समाचार विदेश

नेपालमा हिंसा अस्वीकार्य: अमेरिकी सिनेटरहरूको कडा चेतावनी!

नेपालमा हिंसा अस्वीकार्य: अमेरिकी सिनेटरहरूको कडा चेतावनी!

अमेरिकी सीनेटको वैदेशिक मामिला सम्बन्धी कमिटीका दुई वरिष्ठ सदस्यहरूले नेपालमा भर्खरै भएको हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण र प्रजातान्त्रिक बाटोबाट समाधान खोज्न आग्रह गरेका छन्।

सिनेटर जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपालमा भएको आगजनी, मानवीय क्षति र हिंसात्मक गतिविधि “अस्वीकार्य” भएको उल्लेख गर्दै पीडित र तिनका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। उनीहरूले राज्य शक्तिको प्रयोगमार्फत नागरिकमाथि गरिने दमनका लागि जिम्मेवारलाई उत्तरदायी बनाउन पनि नेपाल सरकारलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “नेपालले पछिल्ला दुई दशकमा प्रजातान्त्रिक अभ्यासमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, जसलाई नेपाली नागरिकको सक्रिय योगदानले सम्भव बनाएको हो। यी उपलब्धिहरूको रक्षा गर्नु अहिलेको आवश्यकता हो।”

अमेरिकी सिनेटरहरूले स्थिर, प्रजातान्त्रिक र गतिशील नेपाललाई नेपाल स्वयं, अमेरिका र सम्पूर्ण क्षेत्रकै हितसँग जोडिएको विषय भएको भन्दै भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरी समाधान गर्न नेपालको राजनीतिक नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय समुदायबाट आएको यो स्पष्ट सन्देशले नेपालका राजनीतिक दल र नेतृत्वलाई फेरि एकपटक आफ्ना आन्तरिक विवाद समाधानमा प्रजातान्त्रिक मार्गप्रति प्रतिबद्धता देखाउन दबाब बढाएको छ।