समाचार

राष्ट्रपति र सेनापति सुसिला कार्की र दुर्गा प्रसाईसँग असन्तुष्ट

राष्ट्रपति र सेनापति सुसिला कार्की र दुर्गा प्रसाईसँग असन्तुष्ट

काठमाडौं । नेपाली सेनाका परमाधिपति तथा राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानन्यायाधीश सुसिला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग असन्तुष्ट भएको श्रोतले जनाएको छ।

श्रोतका अनुसार कार्कीमाथिको असन्तुष्टि हालै भारतीय सञ्चारमाध्यमसँग गरिएको अन्तरवार्तापछि प्रकट भएको हो। उनले नेपालमा भएको अस्थिरता र राजनीतिक प्रक्रियाबारे बाह्य सञ्चारमाध्यममार्फत टिप्पणी गर्दा त्यसलाई संवेदनशील विषयमा अनुचित कदमका रूपमा लिइएको बताइन्छ। पौडेल पक्षले यसलाई नेपालको आन्तरिक मुद्दामा अन्तर्राष्ट्रिय कोणबाट विवाद बढाउने व्यवहार ठानेको श्रोतले स्पष्ट पारेको छ।

दुर्गा प्रसाईप्रति असन्तुष्टि भने फरक कारणले भएको बताइएको छ। केही दिनअघि सेनापति अशोकराज सिग्देलसँग खिचिएको आफ्नो फोटो उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए। उक्त फोटोमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर प्रष्ट देखिन्थ्यो, जसलाई भारतको इन्डिया टुडे पत्रिकाले विशेष शीर्षक बनाएर "Hindu king's portrait behind Nepal Army chief. Is there a message?" भनी प्रश्न उठाएको थियो। यससँगै प्रसाईले विभिन्न हावादारी तथा विवादास्पद राजनीतिक विचारहरू लगातार सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै आएका छन्।

राष्ट्रपति पौडेल मात्र नभई नेपाली सेनाको संस्थागत तह पनि यी गतिविधिप्रति असन्तुष्ट रहेको श्रोतले जनायो। सेनाले विगतमा स्पष्ट गरेकोजस्तै, संस्थागत छविमा आघात पुग्ने खालका गतिविधिलाई नकारात्मक रूपमा लिने बताउँदै आएको छ।

यी घटनाले नेपालको वर्तमान संवैधानिक संकट र सत्ता समीकरणका सन्दर्भमा राजनीतिक र गैरराजनीतिक पात्रहरूको व्यवहार कसरी संवेदनशील विषय बन्न सक्ने हो भन्ने बहसलाई अझ गहिर्याएको छ। आगामी दिनमा यी असन्तुष्टिहरूले राजनीतिक प्रक्रियामा कस्तो असर पार्छ भन्ने प्रश्न खुलेरै बाँकी छ।