आन्दोलनपछिको आगजनीपछि दाङका सरकारी कार्यालयमा सफाइ सुरु, सेवा पुनःस्थापना अनिश्चित!

दाङमा कर्फ्यू हटेपछि जिल्लाभित्रका सरकारी कार्यालयहरूमा कर्मचारीहरूले कामकाज सुरु गर्नुअघि सरसफाईलाई पहिलो प्राथमिकता दिएका छन्। जेनजी पुस्ताद्वारा सञ्चालित आन्दोलनका क्रममा तोडफोड र आगजनीले थिलथिलो बनेका कार्यालय परिसरलाई अहिले कर्मचारीहरूले आफैं जुटेर सफा गर्न थालेका हुन्।
दाङ जिल्ला अदालतमा समेत यही दृश्य देखिएको छ। प्रदर्शनकारीले जलाइदिएका सामग्री हटाउँदै अदालतका कर्मचारीहरू परिसरमा काम गरिरहेका छन्। जिल्ला अदालतका शाखा अधिकृत तथा सूचना अधिकारी गोकर्ण वलीका अनुसार सबै कर्मचारी अहिले सफाइमा सक्रिय छन्। “पहिलो चरणमा बाहिर जलाइएका सामग्री हटाउँदैछौं, त्यसपछि कार्यालयभित्र पनि सफाइ गर्नेछौं,” वलीले बताए। तर उनका अनुसार दैनिक सेवा तत्काल सुचारु गर्न भने सकिने छैन, किनभने फाइल, मिसिल, कम्प्युटर र अन्य कागजातहरू पूर्णरूपमा नष्ट भइसकेका छन्।
केवल अदालत मात्र होइन, घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रका करिब छ दर्जनभन्दा बढी सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताहरूका घर, सवारीसाधन र सार्वजनिक संरचनामा आगजनी भएको स्थानीय प्रशासनको तथ्यांकले देखाउँछ। त्यसको प्रत्यक्ष असर नागरिकलाई दिने सेवामा परेको छ।
सरकारी कार्यालयहरू पुनः सञ्चालनको प्रारम्भिक प्रयास त सुरु भएको छ, तर सम्पूर्ण अभिलेख जलेर नष्ट भएकाले सामान्य सेवा बहाली गर्न अझै समय लाग्ने देखिएको छ।