नोबेल शान्ति पुरस्कारलाई ट्रम्पको ‘राजनीतिक हतियार’ बनाउने षड्यन्त्र?

आगामी अक्टोबर १० मा हुने नोबेल शान्ति पुरस्कार घोषणालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानले अन्तर्राष्ट्रिय बहसलाई तातो बनाएको छ। जनवरीमा फेरि ह्वाइट हाउस फर्किएपछि ७९ वर्षीय अर्बपति ट्रम्पले यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने इच्छा खुलेर व्यक्त गरेका छन्। गाजा र युक्रेनमा शान्ति ल्याउने प्रयास गरेको दाबी गर्दै उनले आफूलाई ‘पुरस्कारको योग्य’ बताइरहेका छन्। यस क्रममा उनले सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अप्रत्याशित रूपमा पुरस्कार पाएको उदाहरण बारम्बार दोहोर्याएका छन्।
तर, नर्वेली नोबेल समितिले बाह्य दबाब वा राजनीतिक प्रचार–प्रसारले आफूलाई प्रभावित नगर्ने स्पष्ट पार्दै स्वतन्त्रतामा अडान देखाएको छ। समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले एएफपीसँग कुरा गर्दै भने, “मिडियाले केही उम्मेद्वारप्रति बढी ध्यान दिएको देखिन्छ, तर यसले समितिको छलफललाई प्रभावित गर्दैन। प्रत्येक नामाङ्कनलाई आफ्नै योग्यताका आधारमा विचार गरिन्छ।”
यस वर्षको पुरस्कारका लागि तीन सय ३८ जना व्यक्ति र संस्थाको नामाङ्कन पेश भएको छ। तीमध्ये कुन नाम सूचीमा पर्यो भन्ने विवरण ५० वर्षसम्म गोप्य राखिने प्रावधान छ। ट्रम्पले आफूलाई विदेशी नेताले मनोनित गरेको दाबी गरे पनि नामाङ्कनको म्याद जनवरी ३१ मै सकिएको भएकाले ती दाबी यस वर्षका लागि वैध नहुन सक्ने विज्ञहरूको अनुमान छ। समितिले यसबारे कुनै टिप्पणी गरेको छैन।
नर्वेले अघिल्ला वर्षमा अन्तर्राष्ट्रिय दबाबलाई अस्वीकार गर्दै स्वतन्त्र निर्णय गरेको इतिहास छ। सन् २०१० मा चिनियाँ असन्तुष्ट लिउ सियाओबोलाई पुरस्कार दिँदा नर्वे-चीन सम्बन्धमै तनाव आएको उदाहरण समितिले सम्झाएको छ।
तर विश्लेषकहरूले ट्रम्पको सम्भावना न्यून देखिरहेका छन्। नर्वेजियन इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका अनुसन्धान निर्देशक हलवार्ड लिराले भने, “यस्तो दबाब प्रायः प्रत्युत्पादक हुन्छ। यदि समितिले अब ट्रम्पलाई पुरस्कार दियो भने स्वतन्त्रता गुमाएको आरोप लाग्नेछ।”
अगस्टमा तीन नोबेल इतिहासकारले समेत ट्रम्प योग्य नभएको ठहर गर्दै, उनको पुटिनप्रतिको प्रशंसा र युक्रेन युद्धबारेको अडानलाई मुख्य कारणका रूपमा औंल्याएका थिए। उनीहरूले आफ्नो लेखमा लेखेका थिए, “नोबेल समितिले ट्रम्पलाई पुरस्कार दिन भने दिमाग गुमाउनु पर्ने हुन्छ।”
नोबेल समितिको अडान र विज्ञहरूको मूल्याङ्कनबीच ट्रम्पको बढ्दो दाबीले पुरस्कार प्रक्रियाको विश्वसनीयता र स्वतन्त्रतामाथि पुनः गहिरो ध्यान खिचिरहेको छ।