सिरियाका लागि साउदीको ठुलो सहयोग:तेल अनुदान घोषणा

दमास्कसस्थित सरकारी समाचार संस्था सानाका अनुसार, साउदी अरेबियाले सिरियालाई १६ लाख ५० हजार ब्यारेल कच्चा तेल अनुदानस्वरूप उपलब्ध गराउने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममार्फत दुई देशका ऊर्जा तथा विकास सम्बन्धी निकायबीच भएको समझदारीमा साउदी विकास कोषका प्रमुख सुल्तान अब्दुर्रहमान अल–मारशद र सिरियाका ऊर्जा प्राधिकरण प्रमुख मोहम्मद अल–बशीरले हस्ताक्षर गर्नुभएको हो।
सिरियालाई सहयोग गर्ने यो पहल साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउद र युवराज मोहम्मद बिन सलमानको निर्देशनमा अघि बढाइएको हो। साउदी विकास कोषका भनाइमा, तेल अनुदानले सिरियाका शुद्धीकरण केन्द्रलाई सञ्चालनमा सघाउने मात्र होइन, वित्तीय तथा प्राविधिक स्थायित्व बढाउने र युद्धग्रस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।
कोषले यस कदमलाई सिरियाली जनताप्रतिको सद्भाव र दुई देशबीचको मजबुत सम्बन्धको प्रमाणका रूपमा व्याख्या गरेको छ। ऊर्जा आपूर्तिको सुधार, औद्योगिक पुनर्निर्माण र जनजीवनको स्तर उकास्नेतर्फ साउदी प्रतिवद्धताको प्रतीकको रूपमा यो सहयोगलाई हेरिएको छ।
विगत दशकमा लामो गृहयुद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण ऊर्जा संकट झेल्दै आएको सिरियाका लागि यो अनुदान तत्कालिक राहत बन्ने अनुमान गरिएको छ। अब प्रश्न यो छ—सहयोगको निरन्तरता र कार्यान्वयनले सिरियाली जनताको दैनिकीमा कस्तो परिवर्तन ल्याउनेछ?