युद्धबीच बेलायती राजकुमार ह्यारीको आकस्मिक प्रवेश: युक्रेनमा घाइते सैनिकसँग!

बेलायती राजकुमार ह्यारी शुक्रबार अप्रत्याशित रूपमा युक्रेन पुगेका छन् । उनका प्रतिनिधिले यसपटकको यात्रा घाइते सैनिक सदस्य र पूर्वसैनिकप्रति ऐक्यबद्धता प्रकट गर्ने उद्देश्यले गरिएको पुष्टि गरेका छन् । यो चार वर्षभित्र उहाँको युक्रेनतर्फको दोस्रो भ्रमण हो ।
ह्यारीद्वारा स्थापित ‘इन्भिक्टस खेलकुद प्रतियोगिता’ घाइते, अस्वस्थ वा सेवामा रहेका सैनिक तथा पूर्वसैनिकका लागि अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने प्यारालिम्पिक शैलीको प्रतियोगिता हो । युक्रेन पनि आगामी संस्करण आयोजना गर्ने सम्भावित दावेदार मुलुकमध्ये एक मानिन्छ ।
राजधानीतर्फको रात्रि रेलयात्रामा द गार्डियन सँग कुरा गर्दै ह्यारीले भने, “हामी युद्ध रोक्न सक्दैनौँ, तर पुनःस्थापनाको यात्रामा सकेसम्म सहयोग गर्न सक्छौँ।” उनका अनुसार, युद्धले शारीरिक र मानसिक घाउ दिएको भए पनि उपचार र पुनःस्थापनाको अवसरले सैनिकलाई नयाँ जीवन दिन सक्छ ।
युद्धबीच ह्यारीको उपस्थितिले युक्रेनका सैनिक तथा पूर्वसैनिकलाई अन्तर्राष्ट्रिय सहयोग र सहानुभूति अझ प्रस्ट रूपमा अनुभव गराएको देखिन्छ । यस्तो निरन्तर समर्थनले घाइतेलाई मात्रै होइन, युद्धपश्चात पुनर्निर्माणका प्रयासलाई समेत दीर्घकालीन बल प्रदान गर्ने अपेक्षा गरिएको छ ।