समाचार अपराध सुरक्षा

जेनजी आन्दोलनपछि बाहिरिएका ७० कैदी कास्की कारागार फर्किए, प्रशासनले सेवा पुनःस्थापना सुरु

जेनजी आन्दोलनपछि बाहिरिएका ७० कैदी कास्की कारागार फर्किए, प्रशासनले सेवा पुनःस्थापना सुरु

कास्की कारागारबाट जेनजी आन्दोलनको भीडबीच मंगलबार राति बाहिरिएका कैदीबन्दी फर्कन थालेका छन्। जेलर राजेन्द्र शर्माका अनुसार शुक्रबारसम्म ७० जना स्वेच्छाले कारागार भित्रिएका छन्। उहाँले बाँकी कैदीबन्दीहरूसँग पनि सम्पर्क भइरहेकाले सबैलाई पूर्ववत् अवस्थामा राख्न सक्ने विश्वास व्यक्त गर्नुभयो। आन्दोलनकारीले तोडफोडपछि कैदीलाई बाहिर ल्याउँदा करिब ७७३ कैदीबन्दी कारागारमा थिए।

सुरक्षा र पूर्वाधार सुधारका प्रयाससँगै कारागारमा थ्रिफेज बिजुली जडान गरिएको छ। शर्मा भन्छन्, “७० जना आइसक्नुभयो, बाँकी पनि सम्पर्कमा हुनुहुन्छ। हामी सबैलाई पूर्ववत् राख्न सक्ने अवस्थामा छौँ।”

यस्तै, गण्डकी प्रदेशको राजधानी पोखरामा पनि दैनिक जनजीवन सामान्यतर्फ फर्किँदै गएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले दिउँसो निषेधाज्ञा र राति कर्फ्यू लागू गरी नेपाली सेनासहितको सुरक्षाबल परिचालन गरेपछि स्थिति क्रमशः नियन्त्रणमा आएको हो।

प्रशासनिक संरचनामा पनि पुनःस्थापनाको प्रयास सुरु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार कार्यालयमा सरसफाइ सुरु भइसकेको छ र क्षतिको विवरण संकलन भइरहेको छ। उहाँले भन्नुभयो, “सबै कर्मचारी काममा फर्किएका छन्। जलेकाले कलमदेखि कम्प्युटरसम्म सबै जोरजाम गर्दै छौँ।”

जिल्ला प्रहरी कार्यालयसहित अन्य युनिट पुनः सञ्चालनका तयारीमा छन्। लम्सालका अनुसार प्रयोग गर्न सकिने भवनमा सेवा सुरु गर्ने र नपुग्ने ठाउँमा वैकल्पिक व्यवस्था खोज्ने काम भइरहेको छ। शुक्रवारदेखि क्षति संकलन र मुचुल्का तयार गर्ने प्रक्रिया सुरु गरिएको छ।

कम जोखिम भएका कोठाबाट अत्यावश्यक सेवा सुरु गर्ने तयारी भइरहेको छ। साथै, प्रशासनले कार्यालयबाट बाहिरिएका सामान फिर्ता गर्न आह्वान गरेको छ। यदि स्वेच्छाले नफिर्ता भएमा सिसिटिभी फुटेजका आधारमा कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

अचानक बिग्रिएको स्थितिबाट कास्की प्रशासन र सुरक्षातन्त्र क्रमशः उक्लँदै गर्दा, चुनौतीका बीच जनजीवन सामान्यतर्फ फर्कन थालेको देखिन्छ।