सुशिला कार्की प्रधानमन्त्री बनेलगत्तै बेलायतको प्रतिक्रिया: नेपालको लागि ‘महत्त्वपूर्ण कदम’

संयुक्त अधिराज्य बेलायतले नेपालको ताजा राजनीतिक परिवर्तनलाई ‘महत्त्वपूर्ण कदम’को रूपमा व्याख्या गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की शुक्रबार अन्तरिम प्रधानमन्त्री बनेलगत्तै काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो।
दूतावासले कार्कीको नियुक्तिलाई नेपालको लोकतान्त्रिक यात्रामा निर्णायक मोडका रूपमा उल्लेख गर्दै नेपाली जनताको जवाफदेही र समावेशी शासनप्रतिको आकांक्षासँग बेलायत प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। दूतावासले लेखेको सन्देशमा नेपाल–बेलायतबीचको सम्बन्धलाई “सबैभन्दा पुरानो मित्रता” भनिएको छ र आगामी चुनौतीहरूलाई मिलेर सामना गर्ने तयारी रहेको उल्लेख गरिएको छ।
नेपाल र बेलायतबीचको कूटनीतिक सम्बन्ध सन् १८१६ को सुगौली सन्धिपश्चात स्थापित भएको हो। त्यसयता द्विपक्षीय सम्बन्ध सैनिक सहकार्य, विकास सहयोग र आपसी राजनीतिक संवादमार्फत निरन्तर मजबुत हुँदै आएको छ। बेलायतको तर्फबाट व्यक्त भएको पछिल्लो समर्थनले अन्तरिम सरकारप्रति अन्तर्राष्ट्रिय समुदायको चासो झन् प्रस्ट पारेको छ, जसले नेपाललाई आगामी राजनीतिक व्यवस्थापन र स्थायित्वतर्फ धकेल्ने संकेत पनि दिन्छ।