समाचार विदेश

प्रधानमन्त्री कार्कीलाई बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार युनुसद्वारा बधाई र सफल कार्यकालको शुभकामना

प्रधानमन्त्री कार्कीलाई बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार युनुसद्वारा बधाई र सफल कार्यकालको शुभकामना

बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले नेपालको नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईसहित शुभकामना सन्देश पठाएका छन्। उहाँले शुक्रबार जारी सन्देशमार्फत कार्कीले मुलुकको जटिल परिस्थितिमा नेतृत्व सम्हाल्नु नेपाली जनताको भरोसा र विश्वासको प्रतीक भएको बताएका छन्।

युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वतर्फ अघि बढ्ने विश्वास प्रकट गरेका छन्। साथै, परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि सम्हालेकी प्रधानमन्त्रीसँग नजिक रहेर काम गर्न तयार रहेको बताएका छन्। उहाँका अनुसार आपसी सम्मान र सहकार्यमा आधारित द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने अपेक्षा छ।

आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना युनुसले गरेका छन्।

नेपालले पछिल्ला दिनमा राजनीतिक उथलपुथल, संसद् विघटन र अन्तरिम सरकार गठनजस्ता घटनाबाट गुज्रिँदै गरेको सन्दर्भमा बङ्गलादेशको यस्तो सन्देशले दुई देशबीचको राजनीतिक र कूटनीतिक निकटता झनै प्रष्ट पारेको छ। यसबाट भविष्यमा सम्बन्ध अझ गहिरो र व्यावहारिक बन्ने अपेक्षा गरिएको छ।