समाचार विदेश

१४० करोड भारतीयको बधाई सुशीला कार्कीलाई, मोदिको खुला समर्थन!

१४० करोड भारतीयको बधाई सुशीला कार्कीलाई, मोदिको खुला समर्थन!

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा संलग्न नेपाली जनतासहित विशेषगरी युवापुस्ताको प्रशंसा गर्दै नयाँ नेतृत्वलाई शुभकामना व्यक्त गरेका छन्। मणिपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालको अस्थिर अवस्थामाझ पनि लोकतान्त्रिक मूल्यलाई सर्वोच्चमा राख्ने जनताको प्रतिबद्धता उल्लेखनीय भएको टिप्पणी गरे।

मोदीले नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले पदभार ग्रहण गरेको प्रसङ्गलाई “महिला सशक्तीकरणको उत्कृष्ट उदाहरण” भन्दै बधाई दिए। उनले भने, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा १४० करोड भारतवासीहरूको तर्फबाट सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने विश्वास छ।”

सम्बोधनका क्रममा मोदीले नेपाली युवाहरूको भूमिकालाई विशेष रूपमा स्मरण गरे। उनका अनुसार पछिल्ला दिनमा काठमाडौंसहितका सडकमा युवाहरूले सफाइ र रङरोगनमा सक्रियता देखाएको दृश्यले नेपालभित्र नयाँ उत्साह र नवउदयको सङ्केत दिएको छ। उनले सामाजिक सञ्जालमा ती तस्बिरहरू देखिएको भन्दै यस्तो सकारात्मक सोच प्रेरणादायी भएको बताए।

भारत र नेपालबीचको साझा इतिहास, सांस्कृतिक आस्था र भौगोलिक निकटताको चर्चा गर्दै मोदीले दुबै देश सहकार्यको बाटोमै अघि बढिरहेको पुनः दोहोर्याए। उनले नेपालप्रति भारतको मित्रवत् सम्बन्धलाई जोड दिँदै नेपालको उज्ज्वल भविष्यका लागि शुभकामना पनि व्यक्त गरे।

यसअघि नेपालमा व्यापक राजनीतिक अस्थिरताबीच सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको थियो। मोदीको तर्फबाट आएको यो सन्देशलाई नेपालमा राजनीतिक संक्रमणका बीच भारतको नजिकको निगरानी र समर्थनको संकेतका रूपमा पनि हेरिएको छ।